काठमाडौं । भोटेकोशीलगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ लाख २० हजार २ सय ४९ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेललगायतको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी राहत रकम हस्तान्तरण गरेको हो ।
संस्थाले विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, बेपत्ता व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धार कार्य सफल होस् भन्ने कामना गरेको छ ।
राहत रकम हस्तान्तरणका क्रममा अध्यक्ष राईले लघुवित्त संस्थाहरू भुइँमान्छेको घर–घरमा पुगेर सेवा तथा वित्तीय पहुँच विस्तारमा समर्पित रहने भएकाले संकटको समयमा पनि समाज र समुदायसँगै उभिनुपर्ने बताए । विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले नेरूडे मिर्मिरे मानवीय हितका कार्यमा सदैव सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत पौडेलले ‘ग्राहक सदस्य पहिलो’ भन्ने मूल नीतिलाई आत्मसात् गर्दै संस्था वित्तीय कारोबारमा मात्र सीमित नरही वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उक्त सहयोग संस्थाका सञ्चालक, कर्मचारी परिवार तथा संस्थाको सामूहिक योगदानबाट जुटाइएको जनाइएको छ । संस्थाले विपद्को कठिन घडीमा भाइचारा, आत्मीयता, सहकार्य र मानवीय संवेदनासहित सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने सन्देश दिएको छ ।