काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राईट एण्ड एसोसियट्सले ६ लाख १ रुपैयाँ सहयोग गरेको छ।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६,००,००१ सहयोग गरेको हो। देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको संस्थाका प्रबन्ध निर्देशक ८८परसुराम अधिकारी (पीआर अधिकारी)८८ले जानकारी दिए।
भदौ १२ गते जारी गरिएको प्रेस विज्ञप्तिमार्फत संस्थाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
संस्थाले विपद्का कारण ठूलो संख्यामा नागरिक घरबार तथा आफन्त गुमाएर कठिन परिस्थितिमा पुगेको उल्लेख गर्दै संकटको यस घडीमा प्रभावित परिवार तथा समुदायको साथमा रहेको जनाएको छ।
प्रबन्ध निर्देशक अधिकारीका अनुसार प्रभावित नागरिकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको हो। राज्यले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ।

सिड्नीस्थित रकडेलका निर्देशक अरुण गौतमले पनि विपद्का बेला प्रभावित नागरिकको सहयोगमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गरेको बताए।
हालैको बाढी तथा पहिरोले उत्तरी नेपालका विभिन्न क्षेत्रमा घर, सडक, पुललगायत भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुन:स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र विभिन्न निकायबाट सहयोग जुटिरहेको छ।
२६ वर्षदेखि शिक्षा तथा माइग्रेसन क्षेत्रमा सक्रिय
राईट एण्ड एसोसियट्स विगत २६ वर्षदेखि शिक्षा, भिसा तथा माइग्रेसनसम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो। काठमाडौंको पुतलीसडकबाट सेवा सुरु गरेको संस्थाले नेपाल तथा विदेशमा करिब एक दर्जनभन्दा बढी शाखा तथा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको संस्थाले विपद् तथा सामाजिक संकटका समयमा समुदायको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।