काठमाडौं । नबिल बैंक लिमिटेडले ‘५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनका लागि बैंकले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतामा मंगलबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन् ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदरमा ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । यसबाट कुल ४ अर्ब रुपैयाँ ऋणपुँजी जुटाउने बैंकले जनाएको छ ।
कुल ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिनेछ ।
यस्तै, १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ । यसमध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर रहेका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।
चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसहित ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अघि बढाएको जनाएको छ ।