काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक तथा कूटनीतिक संवादबाट आर्थिक विकास, व्यापार विस्तार र पूर्वाधार निर्माणमा केन्द्रित गर्ने नयाँ आधार तयार गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको उच्चस्तरीय वार्तापछि सार्वजनिक भएका सहमति तथा संयुक्त दस्ताबेजले दुई देशबीचको सहकार्यलाई ऊर्जा, यातायात, प्रविधि, पर्यटन, कृषि र उद्यमशीलतासम्म विस्तार गर्ने दिशा तय गरेका छन् ।

भ्रमणका क्रममा भारतले नेपालको व्यापारिक तथा पारवहन पहुँच विस्तार गर्न गुजरातको काण्डलास्थित दीनदयाल बन्दरगाह प्रयोग गर्न दिने र आवश्यक पूर्वाधार तयार भएपछि ओडिसाको पारादीप बन्दरगाहमा समेत पहुँच उपलब्ध गराउने घोषणा गरेको छ । यसले तेस्रो मुलुकसँगको व्यापारमा नेपालको वैकल्पिक पारवहन मार्ग विस्तार गर्ने अपेक्षा गरिएको छ ।


त्यस्तै, लामो समयदेखि नेपालले माग गर्दै आएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश मार्गसम्बन्धी विषयमा पनि सकारात्मक सहमति जुटेको छ ।

काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दोहोरो बनाउने सहमतिले भैरहवा विमानस्थलको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा सहजता ल्याउन सक्नेछ । यद्यपि, यसको कार्यान्वयनका लागि दुवै देशका प्राविधिक अधिकारीहरूले कार्यविधि तय गर्नुपर्नेछ ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि जारी २४ बुँदे संयुक्त वक्तव्य र ‘नेपाल–भारत संयुक्त दूरदृष्टि दस्ताबेज’ले आर्थिक सहकार्यलाई सम्बन्धको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौता आपसी सहमतिका आधारमा पुनरवलोकन गर्न सकिने विषयसमेत दस्ताबेजमा समेटिएको छ । सीमा विवाद, जलस्रोत, ऊर्जा तथा व्यापारसँग सम्बन्धित बाँकी विषय संवादमार्फत समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

नेपालको जलविद्युत् उत्पादन र निर्यात क्षमतालाई क्षेत्रीय बजारसँग जोड्ने विषय भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष बनेको छ ।
भारतले नेपालको जलविद्युत् आयोजना तथा प्रसारण पूर्वाधारमा थप लगानी प्रोत्साहन गर्ने सहमति जनाएको छ । दुवै देशले बजारको माग र पारस्परिक लाभका आधारमा विद्युत् व्यापार विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुंग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । त्यस्तै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ ।

यातायात पूर्वाधारतर्फ रक्सौल–काठमाडौं रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको विषयलाई दुवै प्रधानमन्त्रीले स्वागत गरेका छन् ।
बर्दिबास–निजगढ खण्ड र वीरगन्ज–निजगढ रेल लिंकलाई प्राथमिकतामा राख्दै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ । सडक सञ्जाल, नयाँ मोटरेबल पुल र व्यापारिक नाकाहरूको विकासलाई समेत प्राथमिकता दिइएको छ ।

यसैबीच, अयोध्या–जनकपुर रेलसेवा उद्घाटन गरिएको छ । ‘सरयू–कमला एक्सप्रेस’ अयोध्याबाट जनकपुरका लागि प्रस्थान गरेको छ । यसले धार्मिक पर्यटन तथा दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
२ खर्ब ४० अर्बको विकास सहायता, नयाँ परियोजनामा लगानी
भारतले नेपालको विकास पूर्वाधार र ऊर्जा क्षेत्रका लागि कुल २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ ।
अनुदान रकम विपत्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ भने सहुलियतपूर्ण ऋण ऊर्जा क्षेत्रका परियोजनामा उपयोग गर्ने योजना छ ।
भ्रमणका क्रममा सिलिगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माणको शिलान्याससमेत गरिएको छ ।
करिब ११ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना भारतीय अनुदान सहयोगमा निर्माण हुनेछ । सर्लाहीसम्म ग्यास पाइपलाइन विस्तार गर्ने सम्भावनाबारे अध्ययन गर्ने सहमति पनि भएको छ ।

डिजिटल अर्थतन्त्र र युवा उद्यमशीलतामा सहकार्य
यसपटकको भ्रमणमा परम्परागत पूर्वाधारसँगै डिजिटल अर्थतन्त्र र प्रविधि विकासलाई पनि महत्व दिइएको छ ।
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि डिजिटल पहिचान, भुक्तानी प्रणाली र ई–गभर्नेन्समा भारतको प्राविधिक अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने सहमति भएको छ ।

काठमाडौंमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स र पोखरामा डिजिटल नोम्याड्स एन्ड इनोभेसन हब स्थापना गर्ने विषय पनि संयुक्त दस्ताबेजमा समेटिएको छ । नेपाली स्टार्टअपलाई भारतमा तालिम तथा मेन्टरसिप उपलब्ध गराउने र निजी लगानीमार्फत नेपालमा डिजिटल पार्क तथा डेटा सेन्टर विकास गर्ने सहमति भएको छ ।
नेपाली भाषाका लागि लार्ज ल्याङ्ग्वेज मोडल विकास गर्नेदेखि कृत्रिम बौद्धिकता (एआई), फाइभजी र छैटौँ पुस्ताको दूरसञ्चार प्रविधिमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

शिक्षा तथा सीप विकासमा भारतीय उच्च शैक्षिक संस्थाका शाखा वा क्याम्पस नेपालमा स्थापना गर्ने सम्भावनाको अध्ययन गरिने भएको छ । कानुन, प्रविधि र एआईजस्ता नयाँ विषयमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा तालिमका अवसर विस्तार गर्ने सहमति भएको छ । त्यस्तै, नेपाली युवालाई उत्पादन, सेवा र उद्यमशीलतासम्बन्धी सीप प्रदान गर्न भारतीय सहयोगमा व्यावसायिक तालिम संस्था स्थापना गरिनेछ ।
कृषि, पर्यटन र खेलकुदमा पनि नयाँ सम्भावना
कृषि क्षेत्रको उत्पादन र निर्यात क्षमता बढाउने उद्देश्यले चितवनमा भारतीय अनुदान सहयोगमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने सहमति भएको छ । यसले कृषि उत्पादनको प्रशोधन, मूल्य अभिवृद्धि र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खेलकुद पूर्वाधार विकासमा पनि भारतले सहयोग गर्ने भएको छ । विशेषगरी क्रिकेट पूर्वाधार विस्तार र नेपालमा राष्ट्रिय क्रिकेट कोचिङ तथा तालिम एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ब्याडमिन्टन, टेनिस, सुटिङ, एथलेटिक्स तथा पर्वतीय खेलकुदमा समेत सहकार्यका सम्भावना खोजिने भएको छ ।
जलवायु परिवर्तन, विपत् व्यवस्थापन, हिमताल अनुगमन र मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई संस्थागत गर्ने सहमति पनि भएको छ । यसले हिमाली क्षेत्रमा देखिँदै आएको जलवायु जोखिम र प्राकृतिक विपत् व्यवस्थापनमा दुवै देशबीचको सहकार्यलाई थप बलियो बनाउन सक्नेछ ।
आठ समझदारीपत्रमा हस्ताक्षर, कार्यान्वयन मुख्य चुनौती
प्रधानमन्त्री शाह र मोदीबीचको वार्तापछि शिक्षा, सुरक्षा, प्रशासन, स्वास्थ्य, आयुर्वेद, अन्तरिक्ष प्रविधि, सहरी विकास तथा पशुपन्छी र मत्स्य विकासलगायत क्षेत्रमा आठ समझदारीपत्र आदानप्रदान भएका छन् ।
दुई देशबीच सहमति भएका परियोजनालाई समयमै कार्यान्वयन गर्न अनुगमन संयन्त्र सक्रिय बनाउने निर्णय पनि भएको छ ।
विगतमा भारतको सहयोगमा नेपालमा सञ्चालन भएका कतिपय परियोजना लामो समयसम्म अलपत्र पर्ने तथा कार्यान्वयनमा ढिलाइ हुने समस्या देखिँदै आएको अवस्थामा यसपटकको प्रतिबद्धताको प्रभावकारिता कार्यान्वयनबाटै परीक्षण हुनेछ ।

यद्यपि, भ्रमणले सबै पुराना द्विपक्षीय मुद्दालाई सम्बोधन गर्न सकेको छैन । भारतीय विदेशसचिवले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अब सान्दर्भिक नरहेको बताएका छन् । लिपुलेक र भारतीय सेनामा गोर्खा भर्तीको विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल नभएको भारतीय पक्षले जनाएको छ ।