हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्तिलोकपथअन्तर्गत हेटौंडा–काठमाडौं सडकखण्डमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ ।
प्रशासनले असार १६ गते बेलुका ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म तथा असार १७ गते बेलुका ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म कान्तिलोकपथअन्तर्गत हेटौंडा–काठमाडौं सडकखण्डमा कुनै पनि प्रकारको यात्रा नगर्न र नगराउन अनुरोध गरेको हो ।
असार १६ र १७ गते अत्यावश्यक कामबाहेक यात्रा नगर्न, ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्ने लगायतका जोखिमयुक्त गतिविधिबाट टाढा रहन समेत प्रशासनले आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ । यसका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, गेग्रान बहाव, सडक अवरोध, बाढी तथा नदीको जलसतह बढ्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ ।
प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार र भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गर्न पनि अनुरोध गरेको छ ।

कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रको नि:शुल्क टेलिफोन नम्बर ११४९ मा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले वर्षा र जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीले निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले त्यसमा सर्वसाधारणको सहयोग र समन्वय आवश्यक रहेको जनाएको छ।