काठमाडौं । दसैँ, तिहार र छठको उमङ्गलाई थप रोमाञ्चक बनाउँदै यती एअरलाइन्सले आफ्ना यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ ।
यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियानमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको छ ।
चाडपर्वको खुसी, पारिवारिक भेटघाट र यात्राको उत्साहलाई पुरस्कारसँग जोड्ने उद्देश्यले ल्याइएको यो अभियान असोज २३ गतेदेखि सुरु भइसकेको छ र कात्तिक ३० गतेसम्म ३९ दिन सञ्चालन हुनेछ ।
यती एअरलाइन्सले यात्रुहरूले वर्षौँदेखि प्रदान गर्दै आएको विश्वास, माया र साथप्रति आभार व्यक्त गर्दै चाडपर्वको यात्रालाई थप विशेष र स्मरणीय बनाउने उद्देश्यले अभियान ल्याएको जनाएको छ । यस अभियानको मुख्य आकर्षण बम्पर पुरस्कारमा राखिएको पुजो ज्याङ्गो स्कुटर हो ।
चाडपर्वको समयमा आफ्नो गन्तव्यसम्मको यात्रा सहज बनाउँदै आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सकिने भएकाले अभियानले यात्रुहरूमा थप उत्साह जगाउने अपेक्षा गरिएको छ । यसका साथै, साप्ताहिक रूपमा माउन्टेन फ्लाइट जित्ने अवसरले अभियानलाई अझ रोचक बनाएको छ ।

यात्रुहरू स्वत: लक्की ड्रमा सहभागी हुने
अभियान अवधिभित्र यती एअरलाइन्सको टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रुहरू ‘लक्की ड्र’का लागि योग्य हुनेछन् । अभियानमा सहभागी हुन छुट्टै दर्ता गर्नुपर्ने छैन । रद्द गरिएका, रिफन्ड भएका वा प्रयोग नगरिएका टिकटहरू भने ‘लक्की ड्र’मा समावेश हुने छैनन् ।

विजेताहरूको घोषणा आगामी डिसेम्बर १, २०२६ मा यती एअरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (फेसबुक लाइभ) गरी गरिनेछ । जसमा, मुख्य विजेताले रू. ५ लाख ७१ हजार मूल्यको पुजो ज्याङ्गो स्कुटर १२५ स्कुटर जित्नेछन् ।

चाडपर्वको उल्लाससँगै यात्रुहरूलाई थप खुसी बाँड्ने लक्ष्य राखेको यती एअरलाइन्सको यस अभियानले हवाई यात्रालाई पुरस्कार जित्ने रोमाञ्चक अवसरसँग जोडेको छ।