काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलमा आयोजित ‘ज्ञान मेला २०२६’ मा विद्यार्थीको प्रदर्शनी कार्यक्रम जिज्ञासा र आलोचनात्मक चिन्तनको उत्सवका रूपमा सम्पन्न भएको छ ।
‘हामीले जानेका कुरा वास्तवमा कसरी जान्यौँ ?’ भन्ने मूल प्रश्नलाई केन्द्रमा राखेर आयोजित यस वर्षको ज्ञान मेलाले विद्यालय परिसरलाई विद्यार्थी नेतृत्वमा सञ्चालित एक सशक्त बौद्धिक संवादस्थलमा रूपान्तरण गरेको थियो ।
यस वर्षको ज्ञान मेलाको मुख्य विषयवस्तु नेपालको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदा र समृद्ध पहिचान रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरू परम्परागत नेपाली पोसाकमा उपस्थित भएका थिए ।
विद्यालय परिसरलाई रातो मच्छिन्द्रनाथको रथ, बौद्धनाथ स्तूप तथा नेपाली सांस्कृतिक सम्पदाबाट प्रेरित कलात्मक सजावटले आकर्षक बनाइएको थियो । स्थानीय संस्कृति, दर्शन र आधुनिक शैक्षिक दृष्टिकोणको संयोजनले कार्यक्रमलाई थप विशेष बनाएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण डिपी–१ (डिप्लोमा प्रोग्राम)का विद्यार्थीहरूले सञ्चालन गरेका १५ वटा अन्तरक्रियात्मक प्रदर्शनी स्टलहरू थिए ।

ती स्टलहरूमा प्राचीन हस्तलिपि, छेत्री पुतली, डीएनएका तस्बिर, ढुंगेधारा, परम्परागत सामग्री तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न वस्तुहरूलाई ज्ञानको दृष्टिकोणबाट विश्लेषणात्मक रूपमा प्रस्तुत गरिएको थियो।

विद्यार्थीहरूले स्थानीय अनुभव र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय ज्ञान प्रणालीसँग जोड्दै “हामी के जान्दछौँ ?” भन्दा पनि “हामीले त्यो ज्ञान कसरी प्राप्त गर्यौँ ?” भन्ने प्रश्नमाथि गहन बहस र प्रस्तुति दिएका थिए ।

कार्यक्रम अन्तर्राष्ट्रिय ब्याकालोरियट (आईबी) डिप्लोमा कार्यक्रमअन्तर्गतको ‘थ्योरी अफ नलेज’ (टीओके) पाठ्यक्रमसँग सम्बन्धित थियो । टीओके आईबी शिक्षाको महत्वपूर्ण अंग हो, जसले विद्यार्थीहरूलाई आफूले सिकिरहेको ज्ञानको प्रकृति, स्रोत, विश्वसनीयता तथा त्यसको प्रयोगबारे गहिरो रूपमा सोच्न प्रेरित गर्छ ।
टीओके प्रदर्शनी यस पाठ्यक्रमको प्रमुख मूल्यांकन प्रक्रिया मानिन्छ, जहाँ विद्यार्थीहरूले वास्तविक जीवनसँग सम्बन्धित वस्तुहरू छनोट गरी ती वस्तुहरूलाई ज्ञानका अवधारणासँग जोडेर आफ्ना तर्क र निष्कर्ष प्रस्तुत गर्छन् ।
विद्यालयका अनुसार, ज्ञान मेला २०२६ ले विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा प्रश्न गर्न, अनुसन्धान गर्न, तर्क प्रस्तुत गर्न र आफ्ना दृष्टिकोणमाथि आत्मविश्वासपूर्वक संवाद गर्न प्रेरित गरेको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले ज्ञानलाई केवल पुस्तकमा सीमित नभई समाज, संस्कृति, इतिहास र अनुभवसँग जोडेर बुझ्न सकिने कुरा प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए ।