काठमाडौँ । चालु आर्थिक वर्षमा लगातार घटिरहेको विदेशी विनिमय सञ्चितिले मुलुकको अर्थतन्त्र असजिलो अवस्थामा पुग्ने संकेत गरेको छ। अहिलेको गतिमा विदेशी विनिमय सञ्चिति रित्तिँदै गए नेपालले चाँडै नै अन्तर्राष्ट्रिय वित्त निगम (आइएमएफ) बाट ऋण लिनुपर्ने देखिएको छ।
चालु आवका ४ महिनामा मात्र एक खर्ब ५५ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति घटेको छ। विभिन्न माध्यमबाट नेपाल भित्रिने विदेशी पैसाभन्दा नेपालबाट बाहिर जाने विदेशी मुद्रा प्रतिमहिना औसतमा ४० अर्ब रुपैयाँ बढी गएको छ।
यही कारण चालु आवका ४ महिनामा विदेशी मुद्राको सञ्चिति एक खर्ब ५५ अर्ब रुपैयाँ घटेको हो। आगामी दिनमा पनि बाहिरबाट आउने भन्दा नेपालबाट जाने पैसा यही गतिमा बढी हुँदै गए सरकारले आइएमएफसँग विदेशी मुद्रा ऋण लिएर काम चलाउनुपर्ने हुन्छ।
विदेशी मुद्राको अभाव भए सरकारले आयातित सामानको भुक्तानी दिन सक्नेछैन। यस्तोमा काम चलाउन आइएमएफसँग ऋण खोज्नुपर्ने हुन्छ। २०४१ सालमा विदेशी मुद्रा नभएपछि तत्कालीन सरकारले आइएमएफबाट ऋण लिएर चलाउनुपरेको थियो।
राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार मुलुकमा वस्तु तथा सेवा खरिद गर्न ७.२ महिनालाई मात्र धान्ने डलर छ। यो लगभग बोर्डर लाइन हो। नेपालजस्तो मुलुकका लागि वस्तु तथा सेवा खरिद गर्न कम्तीमा पनि ६ महिनालाई पुग्ने विदेशी विनिमय सञ्चिति आवश्यक ठानिन्छ।

गत असार मसान्तसम्म मुलुकमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो। यो वर्षको चार महिनामा आउँदा सञ्चिति ११ प्रतिशतले घटेर १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ । अमेरिकी डलरमा हेर्दा मुलुकमा अहिले १० अर्ब ४७ करोड डलर बराबर सञ्चिति छ। गत असार मसान्तसम्म यस्तो सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलरमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
