काठमाडौं । राजनीतिक दलहरूको शीर्ष बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने राख्ने निर्णय गरेको छ ।
बैठकको निर्णय जानकारी गराउँदै रास्वपा प्रवक्ता जगदीश खरेलले संयन्त्रमा कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति, जसपा नेपाल, जनमत, जनमोर्चालगायतका दल रहने बताए ।
‘बाढी गएकै भोलिपल्टै पार्टी सभापतिज्यूले सर्वदलीय संयन्त्रको बैठक आव्हान गर्नुभएको थियो । दिगो रूपमा समग्र विकास निर्माण र विपद् जोखिम न्यूनीकरणकरलगायतका काम गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रलाई कायम राख्ने निर्णय भएको छ’, खरेलले भने ।
प्रवक्ता खरेलका अनुसार संसद्मा प्राप्त सीट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक साताभित्र सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्ने सहमति पनि बैठकमा जुटेको छ ।
बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका विषयमा पनि छलफल भएको थियो । विश्व मञ्चमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउन नेताहरूले सरकारलाई सुझाएका छन् । उनका अनुसार सबै राजनीतिक दल र शीर्ष नेताले लामिछानेको यस पहलका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
