काठमाडौं । पछिल्लो राजनीतिक परिवर्तनसँगै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो देशव्यापी सङ्गठन विस्तार र आन्तरिक लोकतन्त्रलाई तीव्रता दिएको छ ।
पार्टीको आन्तरिक तथ्याङ्क समेटिएको पछिल्लो विवरण अनुसार, रास्वपाले हालसम्म देशभरका ५६ वटा जिल्लाहरूमा सफलतापूर्वक जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीले सातै प्रदेशमा सांगठनिक संरचना बलियो बनाउने रणनीतिका साथ अधिवेशन अगाडि बढाएको बताएको छ ।
प्राप्त विवरण अनुसार कुल ७७ मध्ये ५६ जिल्लामा अधिवेशन सकिँदा १२ जिल्लाहरू निर्वाचनको चरणमा छन् भने ६ जिल्लामा अझै अधिवेशन हुन बाँकी छ । बागमती प्रदेशको सिन्धुपाल्चोकमा भने अधिवेशन हाललाई स्थगित गरिएको छ ।
मधेशका सबै जिल्लामा निर्वाचन
रास्वपाको यो अधिवेशन तालिकामा सबैभन्दा रोचक र आक्रामक प्रतिस्पर्धा मधेश प्रदेशमा देखिएको छ । मधेशका कुनै पनि जिल्लामा हालसम्म ‘सहमति’ मा नेतृत्व चयन हुन सकेको छैन । नेतृत्व चयनका लागि मधेशका ८ वटै जिल्लाहरू पूर्ण रूपमा निर्वाचनको चरणमा प्रवेश गरे ।

जसमध्ये महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाही निर्वाचनको प्रक्रियामा अगाडि बढेका छन् भने धनुषामा जेठ २६ गते तथा सप्तरी र बारामा जेठ २७ गतेका लागि निर्वाचनको मिति तय गरिएको छ । मधेशमा देखिएको यो चुनावी सरगर्मीले तराई–मधेस क्षेत्रमा रास्वपाको भुइँतहको सङ्गठन बलियो बन्दै गएको र आन्तरिक लोकतन्त्रको तीव्र अभ्यास भइरहेको सङ्केत गर्छ ।

बागलुङमा उजुरी

विवरण अनुसार बागमती र लुम्बिनी प्रदेशमा रास्वपाले सांगठनिक चुनावी प्रक्रियालाई लगभग अन्तिम चरणमा पुर्याएको छ । बागमतीका १३ जिल्लामध्ये सिन्धुपाल्चोक बाहेक काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, दोलखा र नुवाकोटसहित १२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका रूपन्देही, दाङ, बाँके र पाल्पासहित सबै १२ वटै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ ।
गण्डकी प्रदेशको बागलुङमा भने रोचक अवस्था देखिएको छ । त्यहाँ नेतृत्वका लागि ‘सहमति’ भइसकेको भनिए पनि पुन: उजुरी परेपछि विवाद समाधानको प्रयास भइरहेको पत्रमा उल्लेख छ । गण्डकीकै नवलपुरमा भने निर्वाचन हुन बाँकी छ ।
कर्णाली र सुदूरपश्चिममा पनि निर्वाचनको लहर
भौगोलिक रूपमा कठिन मानिने कर्णाली र सुदूरपश्चिममा पनि रास्वपाको आन्तरिक निर्वाचनको लहर पुगेको छ । कर्णालीको कालिकोट, सल्यान, मुगु र जुम्लामा अधिवेशन सकिँदा सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन हुँदैछ । सुदूरपश्चिमको डोटी र बाजुरामा निर्वाचनको तयारी भइरहँदा कैलाली, कञ्चनपुर र डडेल्धुरासहित ७ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । कोशी प्रदेशको उदयपुरमा पनि निर्वाचनको तयारी भइरहेको छ ।
६ जिल्लामा अधिवेशन हुन बाँकी
पार्टीको विवरण अनुसार हिमाली र विकट क्षेत्रका ६ वटा जिल्लाहरूमा भने अझै अधिवेशन हुन सकेको छैन । जसमा डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङ रहेका छन् ।
वैकल्पिक राजनीतिको नारासहित आएको रास्वपाले परम्परागत दलहरूलाई चुनौती दिँदै तल्लो तहसम्म निर्वाचित कमिटीहरू गठन गर्नुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । जिल्ला अधिवेशनहरूको यो परिणामले आगामी महाधिवेशनका लागि पार्टीभित्र नयाँ नेतृत्वको जग तयार गरिरहेको विश्लेषकहरू बताउँछन् ।