काठमाडौं । त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले एमबीएस प्रथम सत्रको एमजीटी ५१५ ‘अर्गनाइजेशन बिह्याावियर’ विषयको प्रश्नपत्र चुहावट प्रकरणमा दुई जना पक्राउ परेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने परीक्षामा संलग्न त्रिवि बाहिरका शिक्षक रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जानकारी दिदै अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिने बताए । साइबर ब्यूरोको अनुसन्धानपछि दुई जना पक्राउ परेको र प्रहरीले थप छानबिन गरिरहेको बताए ।
यसअघि त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले छानविन गर्न समिति गठन गरेको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् ।
साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डीनको कार्यालयले छानविन समिति गठन गरेको हो । परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो ।