काठमाडौं । नेपालमा सेयर बजारप्रति बालबालिकाको नाममा समेत लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ।
पछिल्लो तथ्यांकअनुसार १० लाखभन्दा बढी नाबालकका नाममा डिम्याट खाता खुलेका छन्। विशेषगरी प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिने उद्देश्यले अभिभावकले सानै उमेरमा छोराछोरीको नाममा डिम्याट खाता खोल्ने क्रम बढेको देखिएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार गत सातासम्म १० लाख ३ हजार ६ वटा नाबालक डिम्याट खाता खुलेका छन्। यससँगै नेपालमा कुल डिम्याट खाताको संख्या ८१ लाख २० हजार ७ सय पुगेको छ। कुल खातामध्ये ४६ लाख ४४ हजार ९६ वटा पुरुष र ३४ लाख ७६ हजार ५ सय ८० वटा महिला खाताका रूपमा रहेका छन्।
यस्तै, ९ हजार ६ सय ५ वटा संस्थापक तथा ७७ वटा अन्य शीर्षकका डिम्याट खाता रहेका छन्।
आईपीओमा न्यूनतम १० कित्ता सेयर वितरण हुने व्यवस्थाले पनि बालबालिकाको नाममा डिम्याट खाता खोल्ने प्रवृत्तिलाई बढावा दिएको देखिन्छ। एउटै परिवारका धेरै सदस्यको नामबाट आईपीओमा आवेदन दिँदा सेयर पर्ने सम्भावना बढ्ने अपेक्षामा अभिभावकले बच्चा जन्मिएको केही समयमै डिम्याट खाता खोल्ने गरेका छन्।
कानुनी व्यवस्थाअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकाको नाममा अभिभावकको संरक्षकत्वमा बैंक तथा डिम्याट खाता खोल्न सकिन्छ। बालबालिका १८ वर्ष पुगेपछि भने खाता स्वयं सञ्चालन गर्न सक्ने व्यवस्था छ। दोस्रो बजारमा भौतिक सेयर कारोबार नहुने भएकाले आईपीओमा आवेदन दिन तथा सेयर कारोबार गर्न डिम्याट र बैंक खाता आवश्यक पर्छ।
तर डिम्याट खाता संख्या नै वास्तविक लगानीकर्ताको संख्या भने होइन। एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न पाउने भएकाले कुल खाताको संख्याभन्दा वास्तविक लगानीकर्ता कम रहेको देखिन्छ। उपलब्ध तथ्यांकअनुसार केही लाख खाता दोहोरिएका छन् भने ठूलो संख्यामा डिम्याट खाता सेयरविहीन अवस्थामा समेत रहेका छन्।
उमेर समूहका आधारमा १८ देखि ३० वर्षसम्मका लगानीकर्ताको डिम्याट खाता सबैभन्दा धेरै छ। कुल खातामध्ये २४ लाख ४३ हजार खाता यही उमेर समूहका छन्। ७० वर्षभन्दा माथिका व्यक्तिका नाममा भने २ लाख ५० हजार ८ सय ४० वटा डिम्याट खाता खुलेका छन्।
नेपालमा डिम्याट खाता खोल्ने क्रम पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ। पाँच वर्षको अवधिमा मात्रै डिम्याट खाताको संख्या २६ लाख ६३ हजारले वृद्धि भएको छ। हाल दैनिक औसत करिब ४ हजार २ सय नयाँ डिम्याट खाता थपिने गरेका छन्।
डिम्याट खातासँगै ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। सीडीएससीका अनुसार हाल ‘मेरो सेयर’ का करिब ७० लाख ९६ हजार प्रयोगकर्ता छन्। तीमध्ये ५१ लाख ४८ हजार ८ सय ९३ जना सक्रिय प्रयोगकर्ता रहेका छन्। पाँच वर्षअघि प्रयोगकर्ताको संख्या ४३ लाख ९५ हजार रहेकोमा क्रमशः बढ्दै गएको हो।
संख्यात्मक रूपमा नागरिकको सहभागिता बढे पनि नेपालको सेयर बजार अझै पर्याप्त विविध र परिपक्व बन्न सकेको छैन। बजारमा मुख्य रूपमा इक्विटी सेयरको कारोबार हुँदै आएको छ। बन्ड तथा अन्य वित्तीय औजारको विकास, लगानीकर्ता संरक्षण, वित्तीय साक्षरता, बजार नियमन तथा सुपरिवेक्षणजस्ता पक्षमा अझै सुधार आवश्यक देखिन्छ।
नेपालको सेयर बजारमा क्षेत्रगत प्रतिनिधित्वसमेत समान छैन। एक दशकअघि कुल बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेकोमा अहिले त्यो हिस्सा करिब ५० प्रतिशतमा झरेको छ। पछिल्ला वर्षमा जलविद्युत्, सिमेन्टलगायतका केही क्षेत्रका कम्पनी थपिए पनि अर्थतन्त्रमा ठूलो योगदान रहेका कृषि, उत्पादन तथा अन्य औद्योगिक क्षेत्रको प्रतिनिधित्व अझै सीमित छ।
हाल दोस्रो बजारमा १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६ सय ९८ कित्ता सेयर सूचीकृत छन्। त्यसमध्ये १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७ सय ८२ कित्ता सेयर डिम्याट भइसकेका छन्।
नेपालको कुल जनसंख्याको ठूलो हिस्सा सेयर बजारमा प्रत्यक्ष रूपमा जोडिन थालेको भए पनि लगानीकर्ताको संख्या बढेसँगै बजारको गुणात्मक विकास भने समान गतिमा अघि बढ्न सकेको छैन। बजारको दिगो विकासका लागि लगानीका नयाँ वित्तीय औजार विस्तार, संस्थागत लगानीकर्ताको सहभागिता, प्रभावकारी नियमन तथा सुपरिवेक्षण र वित्तीय साक्षरता विस्तारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।