काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाललाई सिंगापुरका परराष्ट्रमन्त्री डा. भिभियन बालकृष्णनले आज टेलिफोन गरी नेपालमा हालै आएको विपत्तिप्रति दुःख व्यक्त गरेका छन् ।
टेलिफोन वार्ताका क्रममा सिंगापुरका परराष्ट्रमन्त्री बालकृष्णनले नेपालप्रति ऐक्यबद्धता जनाउँदै विपत्तिपछि नेपाली अधिकारीहरूले गरेको तत्काल र समन्वयात्मक उद्धार तथा राहत प्रयासको प्रशंसा गरेका छन् ।
उनले नेपालको आवश्यकताअनुसार मानवीय सहायता उपलब्ध गराउन सिंगापुर तयार रहेको बताउँदै शव तथा बेपत्ता व्यक्ति पहिचानका लागि विशेषज्ञ टोली र ड्रोन सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छन् ।
परराष्ट्रमन्त्री खनालले सिंगापुरको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै बेपत्ता व्यक्तिको खोजी जारी रहेको तथा खोजी, उद्धार, राहत र पुनःस्थापनाका काम भइरहेका बारे जानकारी गराएका छन् ।
उनले कठिन परिस्थितिमा नेपाललाई महत्वपूर्ण सहयोग र समर्थन गरेकोमा सिंगापुर सरकार तथा जनताप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।