रूपन्देही । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलभित्र सडक निर्माणको काम सम्पन्न भएको छ।
आयोजना कार्यालयका अनुसार १ हजार १ सय २६ मिटर लामो मुख्य सुरुङभित्रको सडक निर्माण सकिएको छ भने समग्र आयोजनाको भौतिक प्रगति ६९.२५ प्रतिशत र वित्तीय प्रगति ६३.५५ प्रतिशत पुगेको छ।
आयोजनाका प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङमार्ग आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढाइएको छ। अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, पंखालगायत विद्युतीय तथा सुरक्षा उपकरण जडान भइरहेको छ। यसअघि सेकेन्डरी लाइनिङ र इन्भर्ट निर्माण सम्पन्न भइसकेको छ।
साढे १० मिटर चौडाइ र करिब ७ मिटर उचाइ रहेको सुरुङसँगै पहुँच सडक निर्माण पनि भइरहेको छ। पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको आयोजनाले जनाएको छ।
सुरुङ सञ्चालनपछि बाहिरी पहिरो जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ र भीर संरक्षणको काम गरिनेछ। पैदलयात्रीका लागि रकसेडभित्र सुरक्षित पैदलमार्ग निर्माण गरिने योजना छ। सुरुङको उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टल निर्माण सम्पन्न भइसकेको छ।
सिद्धबाबा क्षेत्रमा ७८० मिटर लामो रकसेड निर्माणको डिजाइन पनि अघि बढाइएको छ। पहिरो खस्ने स्थानमा आरसीसी वा स्टिल संरचनायुक्त छाना निर्माण गरी सवारीसाधन र यात्रुलाई सुरक्षित बनाइनेछ। साथै बलियो तारजालीमार्फत ठूला ढुंगाको जोखिम पनि नियन्त्रण गरिने आयोजनाले जनाएको छ।
यो आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको हो। डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै रहने व्यवस्था छ। निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी बहन गर्नेछ। त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ लागू हुनेछ।
७ अर्ब ३४ करोड रुपैयाँ लागतको यो आयोजना २०७८ फागुनमा सम्झौता भएको थियो। आयोजनाको म्याद २०८३ फागुन ९ सम्म रहे पनि सुरुङमार्ग आगामी असोजभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सिद्धार्थ राजमार्गको सबैभन्दा पहिरो प्रभावित सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको यो सुरुङ सञ्चालनमा आएपछि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ, कास्की, पर्वत र म्याग्दीलगायत जिल्लाको यात्रा सुरक्षित, सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ।