चितवन । सिद्धार्थ हस्पिटालिटीले नारायणगढमा सेवा विस्तार गरेको छ । होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट आजदेखि सञ्चालनमा ल्याइएको हो ।
सिद्धार्थ विजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले ‘प्रिमियम प्रपर्टी’मा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको बताए । उनले भने “सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले यो होटल व्यवस्थापनको जिम्मेवारी लिइएको हो । प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य हो ।”
करिब दुई बिघा जमिनमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा तथा माया डाइनिङ रेस्टुरेण्ट सञ्चालनमा छ । बजार नजिक शान्त वातावरणमा समय बिताउन चाहनेका लागि भरपर्दो होटल हुने न्यौपानेको विश्वास छ ।
होटलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने बैठक कक्ष छ । कम्पनीले हाल भएको पूर्वाधारमा थप लगानी गरी सुविधा विस्तारको योजना बनाएको त्यस अवसरमा जानकारी दिइयो ।
सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि तथा होटलको स्तरोन्नति गरिने बताए । “होटलमा हाल ४४ वटा कोठा छन्, आगामी दिनमा ६० वटा बनाउने योजना छ । अब तीन वटा सम्मेलन हलका साथै स्वीमिङ पुलको स्तरोन्नति गरिनेछ”, उनले भने ।
सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । कम्पनीका अनुसार पाँच तारेस्तरमा सिद्धार्थ भिलासा, चार तारेस्तरमा सिद्धार्थ वैभव, तीन तारेस्तरका सिद्धार्थ बाटिकाअन्तर्गत विभिन्न होटल सञ्चालनमा छन् । त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज, रेष्टुरेण्ट, रिसोर्ट तथा एस क्याफे सञ्चालन भइरहेका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
FACEBOOK COMMENTS