काठमाडौं । नेपाली समाजमा पछिल्लो समय असहिष्ण्ॉता, घृणा, गालीगलौज र भीडतन्त्र बढ्दै गएको भन्दै समाजशास्त्री तथा सामाजिक विश्लेषकहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
राजनीतिक दल र विभिन्न अभियानको आवरणमा फरक मत राख्ने व्यक्ति माथि दुव्र्यवहार गर्ने, कालोमोसो वा मसी छ्याप्ने तथा भौतिक आक्रमणसम्म गर्ने प्रवृत्ति बढ्दै जानु लोकतान्त्रिक समाजका लागि गम्भीर चुनौती बन्दै गएको उनीहरूको बुझाइ छ ।
यसैको पछिल्लो उदाहरणका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेल माथि भएको कालोमसी प्रहारलाई लिन सकिन्छ । रौतहटको गढीमाई नगरपालिका–४, पर्सा गाउँमा आयोजित ‘जनतासँग सांसद’ कार्यक्रम सकेर फर्किने क्रममा केही युवाले सांसद पौडेलमाथि पछाडिबाट कालोमसी छ्यापेका थिए ।
घटनापछि उनीहरूले नाराबाजी गर्नुका साथै सेतो कागजमा नीलो मसीले लेखिएको पर्चा समेत वितरण गरेको बताइएको छ । घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले भत्र्सना गरेको छ । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि जनप्रतिनिधिमाथि हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ ।
रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।
घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले पनि निन्दा गरेका छन् । सामाजिक सञ्जाल मार्फत थापाले असहमतिलाई हिंसा र अपमानबाट जवाफ दिन नसकिने बताएका छन् ।
‘प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ,’ थापाले भनेका छन्, ‘असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन।’
लोकतन्त्रमा विचार फरक हुन सक्ने र असहमति पनि स्वाभाविक भएको उल्लेख गर्दै थापाले कुनै पनि व्यक्तिमाथि कालोमसी प्रहार गर्ने, दुव्र्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् ।
फेसबुक, टिकटक, युट्युब लगायत सामाजिक सञ्जालमा उत्तेजक, नकारात्मक र विवादास्पद सामग्री छिटो फैलिने गरेको छ । धेरै भ्युज र लाइक प्राप्त गर्ने होडमा कतिपय प्रयोगकर्ताले जानाजानी उत्तेजक सामग्री उत्पादन गर्ने गरेका छन्
परिवर्तनको गतिसँगै सामाजिक नियम र मूल्य–मान्यता कमजोर
समाजशास्त्री डा. टीकाराम गौतमका अनुसार समाज निरन्तर परिवर्तन भइरहन्छ र सामाजिक विकासको क्रममा समाज एउटा चरणबाट अर्को चरणमा प्रवेश गर्छ । यस्तो चरणबद्ध विकासका क्रममा समाजका नियम, कानुन, मूल्य–मान्यता र परम्पराहरू कमजोर हुने अवस्था पनि आउन सक्छ ।
उनका अनुसार पछिल्लो एकदेखि दुई दशकमा नेपाली समाज सामाजिक, आर्थिक, सांस्कृतिक तथा प्रविधिका क्षेत्रमा निकै तीव्र गतिमा परिवर्तन भइरहेको छ । तर परिवर्तनको गतिसँगै पुरानो र नयाँबीच सन्तुलन कायम गर्ने कानुन, नियम, आदर्श र सामाजिक संरचना निर्माण हुन नसक्दा समाजमा विभिन्न किसिमका समस्या देखिन थालेका हुन् ।
डा. गौतम भन्छन्, ‘समाज नियमित रूपमा परिवर्तन भइरहन्छ । त्यो परिवर्तन हुने क्रममा सामाजिक विकासको संरचना एउटा चरणदेखि अर्को चरणमा जान्छ । त्यो चरणबद्ध विकास हुने क्रममा समाजका नियम, कानुन, सामाजिक मूल्य–मान्यता र अन्य परम्परा कमजोर हुँदै जान सक्छन् ।
नेपाली समाज गएको एकदेखि दुई दशकमा सामाजिक, आर्थिक, सांस्कृतिक र प्रविधिको हिसाबले निकै छिटो परिवर्तन हुँदै गएको छ । परिवर्तन हुँदै जाँदा समाजका सदस्यहरूले नयाँ परिवर्तनलाई छिटो आत्मसात् गर्न खोज्छन् र पुराना कुरा छोड्न खोज्छन् । तर पुरानो र नयाँलाई सन्तुलित गर्ने कानुन, नियम र आदर्शहरू सोही गतिमा निर्माण हुन नसक्दा समाजमा यस्ता समस्या देखिएको जस्तो लाग्छ ।’
अधिकारको खोजी बढ्यो, जिम्मेवारी ओझेलमा पर्यो
डा. गौतमका अनुसार नेपाली समाजमा मानिसका अपेक्षा बढ्दै जाँदा आफ्नो व्यवहार र उत्तरदायित्व भन्दा अधिकारमा बढी जोड दिने प्रवृत्ति पनि बढ्दै गएको छ । अधिकार प्राप्तिका लागि आवाज उठाउनु लोकतान्त्रिक अधिकार भए पनि त्यससँग जोडिएको जिम्मेवारी र कर्तव्यलाई बेवास्ता गर्दा सामाजिक द्वन्द्व बढ्न सक्ने उनको विश्लेषण छ ।
उनले थपे, ‘मानिसको अपेक्षा बढ्दै जाँदा आफ्नो व्यवहार वा उत्तरदायित्व भन्दा पनि अधिकारमुखी समाजको खोजी गर्न थाल्छ । यस्तो समयमा व्यक्तिले आफ्नो उत्तरदायित्व पूरा गर्नेभन्दा पनि अधिकारका लागि औंला ठड्याउनेजस्ता व्यवहारहरू बढ्दै जान्छन् ।’
उनका अनुसार सामाजिक परिवर्तनलाई संस्थागत गर्ने संरचना, कानुनी व्यवस्था र सामाजिक अनुशासनबीच सन्तुलन कायम गर्न नसक्दा असन्तुष्टि र असहिष्ण्ॉताले ठाउँ पाउने सम्भावना बढ्छ ।
किन बढ्दै छ असहिष्णुता ?
समाजशास्त्रीहरूका अनुसार नेपाली समाजमा असहिष्ण्ॉता, घृणा र भीडतन्त्र बढ्दै जानुका पछाडि सामाजिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक कारणहरू छन् । फरक विचारलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति, कानुनी शासन प्रतिको कमजोर विश्वास, सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो आर्थिक निराशाले समाजमा आक्रोशको वातावरण सिर्जना गरिरहेको उनीहरूको बुझाई छ ।
कानुनी शासनप्रतिको कमजोर विश्वास
कानुन सबैका लागि समान रूपमा लागू हुन्छ भन्ने विश्वास कमजोर हुँदा नागरिकमा राज्य र न्याय प्रणालीप्रतिको भरोसा घट्न सक्छ । अपराध वा अराजक गतिविधिमा संलग्न व्यक्तिले राजनीतिक संरक्षण पाउने गरेको धारणा बलियो हुँदा सर्वसाधारणमा पनि कानुनको डर कमजोर हुने र आफैंले न्याय गर्ने प्रवृत्ति बढ्न सक्ने समाजशास्त्रीहरूको तर्क छ ।
भीडतन्त्र र तत्काल न्यायको मानसिकता
न्यायिक प्रक्रिया लामो र झन्झटिलो हुने धारणा बढ्दै जाँदा कतिपय मानिसमा ‘तत्काल न्याय’ खोज्ने प्रवृत्ति देखिन थालेको छ । सामाजिक सञ्जालमा कुनै घटना सार्वजनिक हुने बित्तिकै सत्य तथ्य नबुझी दोषी ठहर गर्ने र भीडको भावनामा बग्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने गरेको छ ।
भीडमा व्यक्तिको व्यक्तिगत विवेक र जिम्मेवारी कमजोर हुने भएकाले सामान्य असहमति पनि गालीगलौज, दुव्र्यवहार वा हिंसामा परिणत हुन सक्ने जोखिम हुन्छ ।
सामाजिक सञ्जालले बढाएको घृणा
फेसबुक, टिकटक, युट्युब लगायत सामाजिक सञ्जालमा उत्तेजक, नकारात्मक र विवादास्पद सामग्री छिटो फैलिने गरेको छ । धेरै भ्युज र लाइक प्राप्त गर्ने होडमा कतिपय प्रयोगकर्ताले जानाजानी उत्तेजक सामग्री उत्पादन गर्ने गरेका छन् ।
सामाजिक सञ्जालको ‘इको चेम्बर’ प्रभावले मानिसलाई आफ्नै विचारसँग मिल्ने सामग्री मात्र बढी देखाउने हुँदा फरक मत राख्ने व्यक्ति वा समूहलाई शत्रुका रूपमा हेर्ने प्रवृत्ति बढ्न सक्ने समाजशास्त्रीहरूको धारणा छ । यसले संवादले सहिष्ण्ॉताको संस्कृतिलाई कमजोर बनाउँदै लैजान सक्ने समाजशास्त्रीहरूको बुझाई छ ।
आर्थिक निराशा र भविष्यप्रतिको अनिश्चितता
बेरोजगारी, आर्थिक मन्दी, अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताले विशेषगरी युवा पुस्तामा निराशा र आक्रोश बढाइरहेको छ । समाजमा रहेको यस्तो दबाब विभिन्न माध्यमबाट पोखिन सक्ने र त्यसको निशानामा राजनीतिक नेता, सार्वजनिक व्यक्ति वा फरक विचार राख्ने व्यक्ति पर्न सक्ने विश्लेषण गरिएको छ ।
संवाद संस्कृतिको कमजोर हुँदै गएको अवस्था
नेपाली समाजमा फरक विचारबीच संवाद र सहअस्तित्वको संस्कृतिमा क्रमश: ह्रास आएको देखिन्छ । ‘मेरो विचार नै सही हो’ भन्ने मानसिकता बलियो हुँदै जाँदा असहमतिलाई स्वाभाविक रूपमा स्वीकार गर्ने क्षमता कमजोर हुँदै गएको छ ।
फरक विचारलाई तर्क, बहस र संवादबाट सम्बोधन गर्नुपर्नेमा गाली, अपमान, कालोमसी प्रहार वा भौतिक आक्रमणबाट जवाफ दिने प्रवृत्ति बढ्नु लोकतान्त्रिक संस्कारका लागि गम्भीर चुनौती हो ।
समाजशास्त्री डा. टीकाराम गौतमको विश्लेषणमा पनि समाज तीव्र रूपमा परिवर्तन भइरहँदा त्यस अनुसार कानुनी, सामाजिक र सांस्कृतिक संरचना विकास हुन नसक्नुले असन्तुलन सिर्जना गर्न सक्छ । मानिसका अधिकार र अपेक्षा बढ्दै जाँदा त्यससँगै आफ्नो सामाजिक उत्तरदायित्व र कर्तव्यप्रतिको चेतना पनि बलियो बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
समाजशास्त्रीहरूका अनुसार राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सबै पक्षले असहमतिलाई सम्मान गर्ने संस्कृति विकास गर्न आवश्यक छ । लोकतन्त्रमा विरोध र आलोचनाको अधिकार सुरक्षित हुन्छ, तर त्यसको अभिव्यक्ति हिंसा, अपमान र अराजकताको बाटोमा जान नदिन राज्यले कानुनी शासनलाई बलियो बनाउनुपर्ने उनीहरूको सुझाव छ ।
अन्तत: कुनै नेता वा राजनीतिक दल प्रति असहमति हुनु लोकतन्त्रको स्वाभाविक पक्ष हो । तर असहमतिका नाममा व्यक्तिमाथि आक्रमण, दुव्र्यवहार वा अपमान गर्ने प्रवृत्ति बढ्दै जाने हो भने त्यसले एउटा व्यक्तिलाई मात्रै होइन, समग्र लोकतान्त्रिक संस्कार र सामाजिक असहिष्णुतालाई नै कमजोर बनाउने जोखिम बढाउँछ । त्यसैले असहमतिको अधिकारलाई सुरक्षित राख्दै संवाद, बहस र कानुनी प्रक्रियामार्फत मतभेद समाधान गर्ने संस्कृतिको विकास गर्नु आजको प्रमुख आवश्यकता बनेको छ ।