काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीअनुसार ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा अघि बढाउँदै नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अध्ययन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। साथै उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षाको सुनिश्चितता र शैक्षिक सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
इक्यानले विगत तीन दशकदेखि नेपाली विद्यार्थीलाई विदेशका प्रतिष्ठित शैक्षिक संस्थासम्म पुर्याउँदै शैक्षिक परामर्श क्षेत्रमा नेतृत्व गर्दै आएको छ। त्यस्तै आइप्यानले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शिक्षण संस्थामार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा उपलब्ध गराउँदै आएको छ।
समझदारीपछि इक्यान सदस्य संस्थाले आइप्यानका कलेज तथा शैक्षिक संस्थासम्बन्धी जानकारी, भर्ना प्रक्रिया, छात्रवृत्ति तथा अध्ययन अवसरमा प्रत्यक्ष पहुँच पाउनेछन्।
यस सहकार्य अन्तर्गत ‘स्टडी इन नेपाल’ अभियानलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी र शैक्षिक कूटनीति सुदृढ गर्ने लक्ष्य राखिएको छ।

दुवै संस्थाले संयुक्त रूपमा क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक सम्मेलन, अनुसन्धान तथा नीति संवाद सञ्चालन गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति तथा पहुँच विस्तार कार्यक्रम अघि बढाउने सहमति पनि गरेका छन्।
समझदारीलाई नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।