काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन् । उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन् । उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारे ।
उनले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिए।
“हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,” प्रधानमन्त्री शाले मलेसियाली समकक्षीसँग भने, “त्यसैले तपाईंका श्रम मन्त्रीलाई हाम्रा श्रम मन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।”
प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रूपमा लिदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पारे। उनले यस विषयमा आफ्ना श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

मलेसियाली प्रधानमन्त्री इब्राहिमले भने, “यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रम मन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु।”
