काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा राजधानीको भृकुटीमण्डमा आज (बिहीबार) देखि आठौं संस्करणको ‘चेम्बर एक्स्पो २०२५’ सुरू भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना गरेको हो ।
एक्स्पोको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रदर्शनीमा राखिएका स्टलहरूको अवलोकन गरेका छन् ।
माघ २१ गतेसम्म चल्ने चेम्बर मेलामार्फत स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मेलाको मुख्य लक्ष्य हो ।
सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आर्कषणका रूपमा यो वर्ष सफ्टवेयर एण्ड एआई प्रजेक्ट स्टलका रूपमा रहेको छ ।
विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ताकपडाका सामानहरू, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू, लजिष्टिक्स, टेक्सटाइल, फर्निचर, गार्मेन्ट, छालाका सामान, गरगहनाका सामानहरू, सौन्दर्य प्रसाधन, खाद्य र दुग्धजन्य उत्पादनहरू आदि सामग्रीहरूको प्रदर्शनी भइरहेको छ ।
चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्याण्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका देशहरूमा उत्पादित वस्तुहरूको प्रर्दशनी गरिँदै छ र सम्बन्धित देशका व्यवसायीहरूले सहभागिता जनाउँदै छन् ।
स्वदेशी र विदेशी गरी एक सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिँदै छन् । एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
FACEBOOK COMMENTS