म्याग्दी । तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबैजसो चोकमा यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह बेनीमा एकैपटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो । यसपटक तिहार सुरू भएयता बेनी बजारमा देउसीभैलो खेल्ने जम्मा दुईवटा समूह मात्र छन् । बेनीको इन्द्रेणीचोकका व्यवसायी किरण कार्कीले यसपालि देउसीभैलोको रौनक नदेखिएको बताए ।
‘देउसीभैलो खेल्न आएका कलाकार पनि १२ कक्षासम्म अध्ययन गर्ने उमेर समूहका र आमा समूहका मात्र छन,’ उनले भने, ‘१२ कक्षा उत्तीर्ण गरेका धेरै युवायुवती बिदेसिँदाको असर देउसीभैलो खेल्ने संस्कृतिमा पनि देखिन थालेको हो ।’
सदरमुकाम बेनी बजार मात्र नभएर म्याग्दीका अधिकांश ठाउँमा पछिल्ला केही वर्षयताको तिहारमा देउसीभैलो खेल्ने युवा युवतीहरू कम रहेका स्थानीयवासीहरू बताउँछन् । बजारमा भएका युवा युवतीहरू बिदेसिनु र गाउँघरमा धान, कोदो भित्र्याउने, कोदो, गहुँ छर्ने कामको चटारो भएकाले देउसीभैलो खेल्ने कम भएका लोक सङ्गीतकर्मी सङ्घ म्याग्दीका अध्यक्ष गोकुल सुनारले बताए ।
‘देउसीभैलोसँगै विभिन्न किसिमका गीतमा नृत्य प्रस्तुत गर्न एउटा समूहमा २० देखि ३० जना कलाकार आवश्यक पर्छ,’ द साइनिङ नृत्य समूहको देउसीभैलोमा सहभागी उनले भने, ‘राना कालाकार बिदेसिएपछि नयाँलाई तालिम दिएर नचाएका छौँ ।’
कलाकार र युवा पलायनको असर

नाचगानमा राम्रो कला भएका राजकुमार परियार, गोकुल विक, सोनिया पुन, मिलन थापामगरलगायत म्याग्दीका कलाकारहरू पछिल्लो एक वर्षयता रोजगारीको सिलसिलामा बिदेसिएका सुनारले बताए ।

जिल्लाबाहिरका शहर र विदेशमा रहेका म्याग्देलीहरूले भने तिहारको अवसरमा देउसीभैलो खेलेका छन् । पोखरामा म्याग्दी–पोखरा चौतारी, पोर्चुगल, बेलायत, अमेरिका, जापान, दक्षिण कोरीया, अस्ट्रेलियालगायत देशमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)को आयोजनामा देउसीभैलो खेलिएको छ ।

भेला भएर आफ्नो जातीय पोसाकमा सजिएर मौलिक गीतमा नाचगानसहित देउसीभैलो देखिएको अमेरिकामा रहेका म्याग्दी ताकमका राहुल केसीले बताए ।
‘बाध्यताले बिदेसिनु परे पनि आफ्नो संस्कार र संस्कृति प्यारो लाग्दो रहेछ,’ उनले भने, ‘हाम्रा सन्तानहरूले चाडपर्व र संस्कृतिको बारेमा सिकून् भनेर पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएका छौँ ।’
विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार सङ्ख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसङ्ख्या एक लाख सात हजार ३३ छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार सङ्ख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ थियो । पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ ।
हाल जिल्लामा पुरूषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० छ । जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्या कुल परिवार सङ्ख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको छ ।
देसीभैलोको उद्देश्य, स्वरूप र शैली फेरियो
पहिले मनोरञ्जनका लागि खेलिने देउसीभैलोको शैली, स्वरूप र उद्देश्य पनि फेरिएको छ । संस्कृति संरक्षणसँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेल्ने चलन बढेको छ । कलाकारहरूले आफैँ भट्याउने, बजाउने चलन कम छ । रेकर्डेड गीत स्पिकरमा बजाएर नाच्ने गरिएको छ । यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार अमित विश्वकर्माले बताए ।
प्रविधिको उपयोग र आधुनिकताको अनुसरणसँगै मौलिकतालाई पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ । सामुदायिक विद्यालयहरूले निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन, युवा क्लब, आमा समूह र विभिन्न सङ्घसंस्थाले कोष स्थापनाको उद्देश्य राखेर देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोमा पौराणिक कथा प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ । देउसीभैलो खेल्न पुगेकाहरूले सम्बन्धित घरको वर्णन गर्दै आफूहरू आउनुको ऐतिहासिक कारण खोल्दै आशिषसमेत दिने चलन छ ।
घरधनीले पनि त्यस्ता समूहलाई गच्छेअनुसार फलफूल, रोटी र दक्षिणा दिने गर्दछन् । देउसीभैलोमा गाइने गीतमा बलिराजाको प्रसङ्ग जोडिएको पाइन्छ । विभिन्न प्रसङ्ग र कथनसँग जोडिएको देउसीभैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्ने देखिन्छ ।