काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ । शनिबार भएको वार्ताका क्रममा रसुवा–केरुङ नाका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपाल र चीन दुवैतर्फ भएको जनधनको क्षतिप्रति दुवै नेताले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । दुवै नेताबीच जारी खोजी, उद्धार तथा राहत कार्यका साथै चीनमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले आपत्कालीन मानवीय राहत सहयोग उपलब्ध गराएकोमा चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गरेका छन् । वार्तामा नेपाल र चीनबीच तत्काल उपलब्ध हुने जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको साथै, भविष्यमा सीमापार विपद्को जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्ने संयन्त्रलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच सहमति भएको मन्त्रालयले जनाएको छ ।
२- राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति बिना बालगृह वा अस्थायी संरक्षण केन्द्रमा नराख्न तथा ओसारपसार नगर्न आग्रह गरेको छ । परिषद्का अनुसार भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत जिल्लामा आएको बाढीका कारण बाबुआमा वा संरक्षक गुमाएका, बेपत्ता भएका तथा आफैँ घाइते भएका बालबालिकाको संरक्षणमा विशेष ध्यान दिन आवश्यक छ । यस्ता बालबालिकालाई पहिलो प्राथमिकतामा परिवारका अन्य सदस्य वा बाबु–आमातर्फका नातेदारको परिवारमै राखी राहत, उपचार, मनोविमर्शलगायत आवश्यक सहयोगको व्यवस्था गर्न परिषद्ले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ ।
स्थानीय तहभित्र परिवारमा संरक्षणको व्यवस्था गर्न सम्भव नभएमा मात्र स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिसमा बालबालिकाको विवरण तथा सम्पर्क नम्बर खुलाएर राष्ट्रिय बाल अधिकार परिषद्मा सिफारिस गर्नुपर्ने र त्यसपछि परिषद्बाट अनुमति प्राप्त तथा सूचीकृत बालगृह वा संस्थामार्फत अस्थायी संरक्षणको व्यवस्था गरिने परिषद्ले जनाएको छ । परिषद्ले बाबुआमा दुवै गुमाएका, एकल बाबु वा आमा वा संरक्षक गुमाएका, बेपत्ता भएका, घाइते भएका तथा घरपरिवारविहीन भएर अस्थायी संरक्षण आवश्यक भएका बालबालिकालाई कुनै व्यक्ति वा संस्थाले स्थानीय बाल अधिकार समितिको निर्णय, बाल कल्याण अधिकारीको सिफारिस र राष्ट्रिय बाल अधिकार परिषद्को सहमतिबिना बालगृहमा नराख्न तथा ओसारपसार नगर्न स्पष्ट आग्रह गरेको छ । बालबालिकाको सर्वोत्तम हित र अधिकार सुनिश्चित गर्न संविधान, बालबालिकासम्बन्धी ऐन, नियमावली तथा बाल संरक्षणसम्बन्धी प्रचलित कानुन र मापदण्डविपरीतका गतिविधि नगर्न परिषद्ले सबै सरोकारवालालाई आग्रह गरेको छ ।

३- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ शव जमिनमुनि व्यवस्थापन गर्न शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भेटिएका शव तथा नदी किनारबाट संकलन गरिएका शवका अवशेष सडने गल्ने अवस्थामा पुगेपछि स्वास्थ्य विशेषज्ञहरुको सुझावमा जमिनमुनि व्यवस्थापन गर्न लागेको हो । जिल्ला सुरक्षा समिति चितवनको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शव भरतपुर महानगरपालिका–१ देवघाटस्थित जंगलमा शव व्यवस्थापन गर्न लागिएको छ । शव व्यवस्थापनअघि सबैको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने प्रशासनले जनाएको छ । प्रशासनले शोकको यस कठिन परिस्थितिमा निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय र सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । बाध्यात्मक परिस्थितिका कारण पीडित परिवारलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ ।
४- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी महाधिवेशन प्रक्रिया अघि बढाउने बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै देउवा समुहका संयोजक समेत रहेका कोइरालाले अदालतमा विवाद विचाराधीन रहेको अवस्थामा पार्टीमा थप विवाद वा विभाजन निम्त्याउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेको बताएका हुन् । उनले क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति र निर्वाचन समिति गठनलगायत आवश्यक काम अघि बढाएर सबै तहका अधिवेशन गर्ने र महाधिवेशनको कार्यतालिका पनि छिट्टै सार्वजनिक गरिने बताएका छन् । कोइरालाले तथाकथित विशेष महाधिवेशनबाट बनेको स्वघोषित कार्यसमितिले गर्ने अधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन र १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गर्ने महाधिवेशनको तयारीमा जुट्न पार्टीका पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।
उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको र पार्टी विधानअनुसार वर्तमान कार्यसमितिको पदावधि मंसिर मसान्तमा सकिने बताउदै संविधानअनुसार थप छ महिनाको अवधि रहेको भए पनि स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन करिब एक वर्षभित्र हुने भएकाले पार्टीलाई समयमै व्यवस्थित र एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ । कोइरालाले मुलुकको राजनीतिक अवस्था थप जटिल र अस्थिर बन्दै गएको भन्दै राष्ट्रियता, सार्वभौमिकता र नागरिक स्वतन्त्रता संकुचित हुँदै गएको महसुस आम नेपालीले गरिरहेको बताएका छन् । यस्तो अवस्थामा एकताबद्ध, सबल र सक्षम कांग्रेस निर्माण गर्नु सबैको कर्तव्य भएको उनले उल्लेख गरेका छन् । कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले विगतका सिद्धान्त र अभ्यासका आधारमा यथाशीघ्र टुंग्याउने र आफूहरूले न्याय पाउने विश्वाससमेत उनले व्यक्त गरेका छन् । आवेग, उत्तेजना र आरोप–प्रत्यारोपबाट नभई संयमता, धैर्य र आत्मीयताका साथ पार्टीलाई सबै तहमा सबल र लोकप्रिय बनाउने उनले बताएका छन् ।
५- हिमाली क्षेत्रमा आएको विपद्बारे नेपाललाई पूर्वसूचना दिन चीन असफल भएको भन्दै नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति नेपालस्थित चिनियाँ दूतावासले स्पष्टीकरण दिएको छ । दूतावासले चीनले उपलब्ध प्रविधि र स्रोतको सीमाभित्र रहेर निरन्तर निगरानी, अध्ययन तथा जोखिम मूल्यांकन गर्दै महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै साझा गर्दै आएको दाबी गरेको छ । दूतावासले विशेष रूपमा अगस्ट २६ गते चीनको मौसम प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरेको जनाएको छ । बैठकमा विपद्को अवस्थाबारे मूल्यांकन तथा तथ्यांक आदानप्रदान गरिएको थियो। चीनले हाल पनि हिमताल तथा अन्य जल–मौसमसम्बन्धी तथ्यांकसहित आवश्यक सूचना नेपालसँग निरन्तर साझा गरिरहेको जनाएको छ । चीनको मौसम प्रशासनले नेपाललाई ‘माजु’ नामक चिनियाँ बौद्धिक मौसम पूर्वचेतावनी प्रणालीअन्तर्गत प्रारम्भिक विशेष सेवा उपलब्ध गराएको दूतावासले जनाएको छ ।
यसले सीमापार विपद्को सामना गर्ने दुवै देशको क्षमता बढाउन सहयोग गर्ने चीनको भनाइ छ । दूतावासले हिमाली क्षेत्रमा विपद्को जोखिम पहिचान र पूर्वानुमान निकै जटिल रहेको पनि स्पष्ट पारेको छ । चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूको अध्ययनअनुसार हिमाली क्षेत्रमा जोखिमका स्थानहरू निकै छरिएका छन्। चार हजारदेखि पाँच हजार मिटर वा त्यसभन्दा माथिको उचाइमा रहेका धेरै हिमताल तथा हिम–चट्टानका संरचनामा नियमित रूपमा स्थलगत अध्ययन गर्न कठिन हुने चीनले जनाएको छ । त्यस्ता दुर्गम र जटिल भूभागमा उपग्रह तथा अन्य प्रविधिबाट गरिने निगरानीमा समेत सीमितता रहने दूतावासको भनाइ छ ।
विशेषगरी ठाडा पहाड र अत्यन्त जटिल भूभागमा तस्वीरको शुद्धता तथा सूक्ष्म निगरानी अझै अन्तर्राष्ट्रिय चुनौतीका रूपमा रहेको जनाइएको छ । दूतावासका अनुसार नेपाल र चीनबीच सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर समन्वय हुँदै आएको उल्लेख गर्दै यसै वर्षको जेठमा चीनको जलस्रोत मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागका प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान संयन्त्र निर्माणका विषयमा महत्वपूर्ण छलफल गरेको बताएको छ । त्यस्तै, अगस्ट महिनामा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत पर्वतीय विपद् तथा वातावरणसम्बन्धी संस्थाको टोली नेपाल आएर वैज्ञानिक अध्ययन तथा अनुभव आदानप्रदान गरेको दूतावासले जनाएको छ। टोलीले हिमतालको निगरानीसम्बन्धी चीनको अनुभव नेपाली पक्षसँग साझा गरेको थियो ।
दूतावासले २०७२ सालको भूकम्पले नेपालको दक्षिणी हिमाली क्षेत्रमा चट्टानका संरचना प्रभावित बनाएकाले हिमाली चट्टानको स्थिरतासम्बन्धी अनिश्चितता थप बढेको समेत उल्लेख गरेको छ। यस्तो अवस्थामा चिनियाँ विज्ञ टोलीले उपलब्ध प्रविधिको सीमाभित्र रहेर निगरानी, मूल्यांकन र अध्ययन गर्दै आएको तथा महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै साझा गरेको दाबी गरिएको छ । चिनियाँ दूतावासले विपद् व्यवस्थापनमा नेपालसँगको सूचना आदानप्रदान र सहकार्यलाई आगामी दिनमा अझ गहिरो बनाउने विश्वास व्यक्त गर्दै दुवै देशका नागरिकको सुरक्षा र हितका लागि सीमापार विपद् व्यवस्थापनमा निरन्तर सहकार्य आवश्यक रहेको दूतावासले जनाएको छ ।
६-भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म १५ देशका १८७ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले शुक्रबार सार्वजनिक गरेको अपडेट अनुसार भारतका ११४, चीनका २७, दक्षिण कोरियाका २०, माल्टा र जर्मनीका ४-४ अमेरिका र इटालीका ३-३, रुस, स्पेन, स्वीजरल्याण्ड, टर्कीका २-२ जना तथा बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका एक एक जना नागरिकको उद्धार गरिएको छ । त्यस्तै अन्य राष्ट्रियता नखुलेका ३ जना सम्पर्कमा रहेको बोर्डले जानकारी दिएको छ । त्यस्तै अझै ४२० विदेशी पर्यटक सम्पर्कमा नरहेको बोर्डले जनाएको छ ।
गत बुधबार रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले संयुक्त रूपमा काम गरिरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार घाइते, अलपत्र तथा प्रभावित व्यक्तिको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक प्रयास जारी छ । आपत्कालीन सहयोगका लागि निःशुल्क १२३४, सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले पर्यटकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ । यसअघि बोर्डले ६६७ जना पर्यटक सम्पर्क विहिन रहेको जानकारी दिएको थियो ।
७- परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । भोटेकोशी बाढीपछि मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को हाई लेभल कमेमोरेटिभ मिटिङमा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम स्थगित गरेका हुन् । बेलग्रेडमा भदौ १५ र १६ गते हुने हाई लेभल कमेमोरेटिभ मिटिङमा मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी थियो । परराष्ट्र मन्त्रालयले भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्री खनाल सर्बिया भ्रमणमा नजाने जनाएको छ । कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।
८- नेपाल ए अस्ट्रेलिया जारी टप एन्ड सिरिजको अन्तिम खेलमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा भिक्टोरिया सिए एघारले नेपाल ए लाई एक विकेटले पराजित गरेको हो । नेपाल ए ले दिएको १४३ रनको लक्ष्य पछाएको भिक्टोरियाले २० ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । यसअघि नेपाल ए ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक अविजित ९० रन बनाएका थिए भने दीपक डुम्रेले १६ रन बनाएका थिए । योसँगै टप एन्ड सिरिजमा एडेलेड स्ट्राइकर्स एकेडेमी, बंगलादेश एचपी एघार, भिक्टोरिया सिए एघार र न्यूजील्याण्ड ए टिम सेमिफाइनलमा पुगेका छन् । नेपाल ए ले ६ खेलमा २ जित हासिल गरेको थियो भने ४ खेलमा हार बेह्रोरेको थियो ।
९- काठमाडौँ बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारमा विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी रहेको छ । अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ । सरकारको अनुमतिपश्चात् ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको हो ।
चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्नेछ । संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ (अनुगमन) गर्नेछ । प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ । सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको छ ।
१०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको ६५ अर्ब ब्यारेलभन्दा बढी प्रमाणित तेल भण्डारको विकास र व्यवस्थापनमा अमेरिकाको बहुमत नियन्त्रण हुने गरी सम्झौता भएको घोषणा गरेका छन् । ट्रम्पले यसलाई ‘ऐतिहासिक’ सम्झौता भन्दै यसबाट अमेरिकी तेल भण्डार दोब्बरभन्दा बढी बढ्ने, तेल आपूर्ति वृद्धि हुने र अमेरिकी नागरिकका लागि पेट्रोलियम पदार्थको मूल्य घट्ने दाबी गरेका छन् । ट्रम्पका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथले भेनेजुएलाको नेतृत्वसँग निजी क्षेत्रको साझेदारीमा सम्झौता गरेका हुन् । उनले सम्झौतामा अमेरिकी करदाताको रकम खर्च नहुने दाबी गरेका छन् । यद्यपि सम्झौताका विस्तृत सर्त, लगानीको संरचना र अमेरिकाले पाउने अधिकारबारे पूर्ण विवरण सार्वजनिक गरिएको छैन । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भने सम्झौताले देशको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन् ।
उनका अनुसार सम्झौताअन्तर्गत १७ वटा रणनीतिक तेल क्षेत्रको विकास गरिनेछ । त्यसका लागि १०० अर्ब डलरभन्दा बढी लगानी हुने र राज्यले २०९ अर्ब डलरभन्दा बढी कर प्राप्त गर्ने अनुमान गरिएको छ । सम्झौताअनुसार भेनेजुएलामा अनुभवी निजी तेल सञ्चालकसँग स्थापना हुने संयुक्त कम्पनीमा अमेरिकी सरकारको ५५ प्रतिशत नियन्त्रण रहने अमेरिकी अधिकारीले बताएका छन् । तेल क्षेत्र सञ्चालनका लागि १०० वर्षसम्मको अधिकार दिइएको बताइएको छ । तर, वासिङ्टन र काराकासबीच भएको भनिएको सम्झौताको आधिकारिक दस्तावेज अझै सार्वजनिक गरिएको छैन । यो सम्झौता भेनेजुएलाको सार्वभौम प्राकृतिक स्रोतमा अमेरिकालाई प्रत्यक्ष भूमिका दिने असामान्य व्यवस्थाका रूपमा हेरिएको छ । यसले भेनेजुएलाको कानुन र संविधानअनुसार चुनौती सामना गर्न सक्ने सम्भावनाबारे पनि प्रश्न उठेका छन् ।
सम्झौताका वास्तविक कानुनी र आर्थिक सर्त सार्वजनिक भएपछि मात्र यसको प्रभावबारे स्पष्ट हुने देखिन्छ । भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको छ । त्यहाँ करिब ३०३ अर्ब ब्यारेल प्रमाणित तेल भण्डार भए पनि सन् १९९० को दशकको अन्त्यमा पुगेको उच्च उत्पादनको तुलनामा अहिले उत्पादन निकै घटेको छ । कमजोर पूर्वाधार, लगानीको अभाव र लामो समयदेखिको आर्थिक संकटका कारण तेल उद्योग प्रभावित हुँदै आएको छ । यसअघि ट्रम्पले भेनेजुएलाको तेल उद्योग पुनर्निर्माणका लागि अमेरिकी तेल कम्पनीहरूले कम्तीमा १०० अर्ब डलर लगानी गर्नुपर्ने बताएका थिए । पछिल्लो समय अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य बढेपछि ट्रम्पमाथि घरेलु इन्धन मूल्य घटाउन दबाबसमेत बढेको थियो । यस्तो अवस्थामा भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच बनाउने सम्झौतालाई अमेरिकी ऊर्जा आपूर्ति बढाउने रणनीतिका रूपमा समेत हेरिएको छ ।
११- काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा सुरु गरेको छ । शुक्रबार एउटा सवारी साधनबाट सुरु गरिएको सेवामार्फत पहिलो दिन २ बालबालिका, ९ महिला र ८ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाले जनाएको छ । शनिबारदेखि सेवामा दुई वटा सवारी साधन परिचालन गरिएको छ । तीमध्ये रसुवादेखि काठमाडौँ यात्रु ओसार्दै आएको ००६ ख ९३३९ नम्बरको १९ सिटे सवारी साधन र छत्रपाटी निःशुल्क चिकित्सालयले महानगरको अनुरोधमा उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको १० सिटे सवारी साधन रहेका छन् । निःशुल्क सवारी साधन पहिचान गर्न अगाडि र पछाडि व्यानर राखिएको छ भने दुवै सवारी साधनमा नगर प्रहरीसमेत परिचालन गरिएको छ । यात्रुको आवश्यकता बढ्दै गएमा सवारी साधनको संख्या थप गर्ने महानगरपालिकाको योजना छ ।
सेवामा खटिएका जनशक्तिलाई प्रोत्साहन गर्न महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सभागृहमा पुगेर आवश्यक निर्देशन दिएका थिए । यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्म सञ्चालन हुनेछ । कामको सिलसिलामा रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा पुगेर विपद्का कारण अलपत्र परेका काठमाडौँ फर्कन चाहने व्यक्ति तथा प्रभावित क्षेत्रमा आफन्तको खोजी गर्न काठमाडौँबाट जानुपर्ने व्यक्तिलाई लक्षित गरी सेवा सुरु गरिएको हो । महानगरपालिकाका अनुसार दुवै सवारी साधनले दिनमा दुई पटक यात्रु ओसार्नेछन् ।
१२- जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न इच्छुक व्यक्ति, संघसंस्था, कम्पनी, क्लब तथा नागरिकलाई आग्रह गरेको छ । कार्यालयले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य आवश्यक घरायसी सामग्री संकलन गरी उपलब्ध गराउन सकिने जनाएको छ । काठमाडौंमा संकलन हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरी सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा पीडितसमक्ष पुर्याइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । राहत सामग्रीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवासँग ९८४१७९८५४२ मा सम्पर्क गर्न सकिनेछ । नगद सहयोग गर्न चाहनेले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तोकिएको खातामा वा उपलब्ध गराइएको क्यूआरमार्फत मात्र रकम जम्मा गर्न कार्यालयले अनुरोध गरेको छ ।
१३- रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फेला पारी तोडफोड गरेर नगद लैजाने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १२ गते गजुरी गाउँपालिका–७ गलौदीस्थित त्रिशूली नदीको किनारमा बाढीले बगाएर ल्याएको सेफ फेला पारेका स्थानीय व्यक्तिहरूले सेफ तोडफोड गरी नगद लागेको गरेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले तत्काल परिचालन भई खोजतलास गर्दा प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ । बरामद रकमको स्रोत तथा घटनामा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ मास्टर बस्ने २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर राना मगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३९ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४१ वर्षीय शिवबहादुर राना मगर, ४६ वर्षीय युवराज अधिकारी, ४७ वर्षीय कुशान्त श्रेष्ठ, ४६ वर्षीय सुचिनबहादुर राना मगर, २४ वर्षीय सचिन श्रेष्ठ, ४३ वर्षीय प्रेमबहादुर राना मगर र २९ वर्षीय अनिल भेटुवाल रहेका छन् । त्यस्तै ४२ वर्षीय रामशरण सुवेदी, ३८ वर्षीय मिनबहादुर राना मगर, ३३ वर्षीय लोकेन्द्र राना मगर, ३२ वर्षीय दीपक तामाङ, ३६ वर्षीय राजकुमार भेटुवाल, २९ वर्षीय दिनेश अधिकारी, ३० वर्षीय दिनेश पलामी, ३० वर्षीय टेकबहादुर राना मगर, ३२ वर्षीय सन्तोष श्रेष्ठ, सिमपानी बस्ने ३६ वर्षीय सनुभाई श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ आदमघाट बस्ने ४२ वर्षीय सानु खातीवडा, चितवन राप्ती नगरपालिका–६ घर भई हाल धादिङ गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २२ वर्षीय विचारी आले मगर, ३२ वर्षीय नारायण श्रेष्ठ, २० वर्षीय अग्नि आले मगर र पर्सा बहुदरमाई नगरपालिका–१ घर भई हाल धादिङ गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २६ वर्षीय सकुर अन्सारी पक्राउ परेका छन् । प्रहरीले बरामद नगदको स्रोत र घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।
१४- भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४२६ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको शनिबार बिहान १० बजेसम्मको अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४२६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ५२६, मकवानपुरका ६५ र नुवाकोटका ११५ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । यसैगरी, ५१७ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने जनाइएको छ । त्यस्तै प्राधिकरणले अहिलेसम्म ६२६ जनाको शव फेला परेको जानकारी दिएको छ । जसमा रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१, चितवनमा २३३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।
१५- रिलायन्स इन्डस्ट्रिज लिमिटेडको डिजिटल तथा दूरसञ्चार शाखा जियो प्लेटफर्म लिमिटेडको साधारण सेयर निष्कासन (आइपीओ) लाई भारतीय धितोपत्र तथा विनिमय बोर्डले स्वीकृति दिएको छ । भारतीय धितोपत्र तथा विनिमय बोर्डले अगस्ट २८ मा स्वीकृति दिएको हो । राष्ट्रिय धितोपत्र कारोबार केन्द्रको आधिकारिक विवरणमा पनि जियोको प्रारम्भिक विवरणपत्रको अवस्था ‘स्वीकृत’ देखिएको छ । कम्पनीले २७ करोड नयाँ सेयर जारी गरी करिब ४ अर्ब अमेरिकी डलर अर्थात् ३७ हजार ७०० करोड भारतीय रुपैयाँ जुटाउने योजना बनाएको छ । यो निष्कासन भारतकै अहिलेसम्मको सबैभन्दा ठूलो साधारण सेयर निष्कासन बन्न सक्ने बताइएको छ ।
जियोको सेयर निष्कासन कहिले बजारमा आउने भन्ने औपचारिक मिति तय भएको छैन । तर जानकारहरूले दीपावली आसपास निष्कासन हुन सक्ने अनुमान गरेका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले यसै वर्षको वार्षिक साधारणसभामा जियो प्लेटफर्मको सेयर निष्कासन गर्ने घोषणा गरेका थिए । जियो प्लेटफर्मले भारतको ठूलो मोबाइल सञ्जाल सञ्चालन गर्नुका साथै पाँचौँ पुस्ता (फाइभजी) को दूरसञ्चार सेवा, सञ्जाल प्रविधि र कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि उपलब्ध गराउँदै आएको छ । अम्बानीले जियोको सेयर बजारमा सूचीकृत भएपछि भारतले विश्वस्तरका प्रविधि कम्पनी निर्माण गर्न सक्ने क्षमता देखाउने बताएका थिए ।
१६- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सडक अन्तर्गत धादिङको बैरेनी बजारको एक किलोमिटर सडक मात्र एकतर्फी रहेको छ । प्रहरीका अनुसार भदौ १० गतेको भिषण बाढीपछि लेदो भरिएर अवरुद्ध रहेको धादिङको बैरेनी बजारको एक किलोमिटर सडक मात्र एकतर्फी रहेको र काठमाडौँदेखि मुग्लिनसम्मको अन्य सडक पूर्णरुपमा सुचारु रहेको छ ।
१७- फ्रान्सेली शीर्ष डिभिजनअन्तर्गतको खेलमा पिएसजीले लिलेसँग २-२ गोलको बराबरी खेलेको छ । दुई गोलले पछि परेको पिएसजीले खेलको अन्तिम समयमा दुई गोल गर्दै हार टारेको हो । खेलको २१औँ मिनेटमा हाकोन हाराल्डसनले गोल गर्दै लिलेलाई सुरुआती अग्रता दिलाएका थिए । ओलिभियर जिरुडको उत्कृष्ट पासमा हाराल्डसनले शक्तिशाली प्रहार गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए । पिएसजीले बराबरी गोलका लागि लगातार प्रयास गरे पनि लिलेले आफ्नो रक्षापंक्ति मजबुत राखेको थियो । दोस्रो हाफमा पनि लिलेले पिएसजीलाई दबाबमा राख्दै खेलको अन्तिमतिर आफ्नो अग्रता दोब्बर बनाएको थियो । खेलको ८४औँ मिनेटमा दिलाने बाक्वाले गोल गर्दै लिलेलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि लिले जितको नजिक पुगेको देखिएको थियो । तर खेलको थपिएको समयमा पिएसजीले नाटकीय पुनरागमन गरेको थियो ।
खेलको ९०औँ मिनेटपछि भिटिन्हाले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै अन्तर २-१ मा झारेका थिए । त्यसको केही मिनेटपछि कप्तान मारक्विन्होसले हेडमार्फत गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याएका थिए । भिटिन्हाको पासमा मारक्विन्होसले गरेको गोलसँगै पिएसजीले दुई गोलले पछि परेको अवस्थाबाट अंक खोस्न सफल भएको हो । यो लगातार दोस्रो खेल हो, जसमा पिएसजीले दुई गोलले पछि परेको अवस्थाबाट बराबरी नतिजा निकालेको छ । यसअघि सिजनको पहिलो खेलमा पनि पिएसजी रेनेससँग २-२ गोलको बराबरीमा रोकिएको थियो । बराबरीपछि पिएसजीले लिगको सुरुआती दुई खेलबाट दुई अंक मात्र जोडेको छ । लिले भने चार अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
१८- रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि खोज, उद्धार तथा राहत कार्य जारी रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहयोग गर्न इच्छुक व्यक्ति, संस्था तथा निकायलाई आवश्यक राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । प्राधिकरणले प्रभावित परिवारलाई तत्काल र छरितो राहत व्यवस्थापन गर्न त्रिपाल, तिरपाल, डोरी, कम्बल, प्लास्टिक सिट, तकिया, सुत्ने झोला, सुत्ने म्याट तथा खाना पकाउने सामग्री आवश्यक रहेको जनाएको छ। खाना पकाउने सामग्रीमा भान्साका सामान तथा ग्यास सिलिन्डरसहितको चुलो समावेश छन् । त्यस्तै प्लास्टिक बाल्टिन, प्लास्टिक मग, पानी राख्ने भाँडा, बालबालिकाका सामग्री, किशोरी तथा महिलाका आवश्यक सामग्री, चप्पल, कपडा, मास्क, पञ्जा, सरसफाइ सामग्री, साबुन, सेनिटाइजर, सेनेटरी प्याड, दाँत माझ्ने सामग्री तथा तौलिया पनि आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा उज्यालो र सञ्चार व्यवस्थाका लागि सौर्य प्यानल, सौर्य बत्ती, सौर्य बत्तीको घरायसी प्रणाली, पोर्टेबल विद्युत् उत्पादन यन्त्र, ब्याट्री, टर्च तथा पावर बैंक आवश्यक रहेको छ । त्यस्तै, खाद्य सामग्रीतर्फ उच्च ऊर्जा भएका बिस्कुट, तत्काल खान मिल्ने खाद्य पदार्थ, चामल, दाल, आलु, खाने तेल, नुन, सोयाबिन, सुक्खा तरकारी, चिउरा, मसला तथा सुक्खा फलफूल आवश्यक रहेको प्राधिकरणले जनाएको छ । आपत्कालीन यातायातका लागि नदीमा प्रयोग हुने अस्थायी पुलसमेत आवश्यक सूचीमा राखिएको छ । प्राधिकरणले सहयोग गर्न इच्छुक दाता, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा निजी क्षेत्रलाई समन्वय गरेर मात्र सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । प्राधिकरणले राहत सामग्री सङ्कलन, ढुवानी तथा वितरणसम्बन्धी समन्वयका लागि निम्न व्यक्तिसँग सम्पर्क गर्न सकिने जनाएको छ । प्राधिकरणले हवाईमार्फत आउने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदाममा पुरुषोत्तम भण्डारी- ९८५११४७४७४, चन्द्रबहादुर थापा-९८५१०८४२३० र निरञ्जन निरौला- ९८४३४६५९९१ लाई सम्पर्क गर्न भनेको छ ।
त्यसैगरी, स्थलमार्गबाट आउने सामग्री काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्यमा प्रहरी निरीक्षक- ९८५१२५३६९९ लाई तथा तालिम केन्द्र वा नुवाकोटको मैथली ब्यारेकमा दिपेन्द्र पौडेल- ९८५६०६७७७०, प्रकाश ढुंगाना- ९८६०६५१९३८, श्यामबाबु केडेल- ९८६४०६४६००, युवराज भण्डारी- ९८४६१०६९२८ र शेखरबाबु ठोकर- ९८५४०४४४९७ लाई सम्पर्क गर्न भनेको छ । त्यसैगरी धुञ्चे, रसुवास्थित जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी प्रभावित जिल्लामा सिधै राहत सामग्री उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचीमा उल्लेख नभएका अन्य सामग्री उपलब्ध गराउनुअघि विवरण इमेलमार्फत पठाई स्वीकृति लिएर मात्र उपलब्ध गराउन अनुरोध गरेको छ । प्राधिकरणले सूचीमा उल्लेख नभएका अन्य सामग्री उपलब्ध गराउनुअघि त्यसको विवरण ndrrma@gmail.com मा पठाई स्वीकृति लिएर मात्र उपलब्ध गराउन अनुरोध गरेको छ ।
१९- विपद्का कारण सम्पर्कविहीन भएका आफ्ना कर्मचारीको उद्धारमा ढिलाइ भएको विषयमा नेपाल विद्युत् प्राधिकरणले प्रष्टीकरण दिएको छ । प्राधिकरणले कर्मचारीको सुरक्षित उद्धारलाई पहिलो र सर्वोच्च प्राथमिकतामा राखेर निरन्तर प्रयास भइरहेको जनाएको छ । प्राधिकरणले विपद्को कठिन अवस्थामा आफ्ना प्रियजन, साथी तथा सहकर्मी सम्पर्कविहीन हुँदा परिवार र सहकर्मीमा उत्पन्न हुने चिन्ता, बेचैनी तथा आक्रोशलाई आफूहरूले गहिरोसँग बुझेको जनाएको छ । सम्पर्कविहीन प्रत्येक कर्मचारी आफ्नै परिवारको सदस्य भएकाले उनीहरूको अवस्थाप्रति प्राधिकरण पनि उत्तिकै चिन्तित रहेको बताइएको छ । कर्मचारीको उद्धारमा ढिलाइ गर्ने, पन्छिने वा बेवास्ता गर्ने कुनै मनसाय नरहेको प्राधिकरणले स्पष्ट पारेको छ।
विपद् आएको क्षणदेखि नै सम्बन्धित टोलीहरू दिनरात नभनी उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनाको काममा खटिरहेको प्राधिकरणको भनाइ छ । अत्यन्त कठिन भौगोलिक तथा मौसमीय अवस्थाका बाबजुद प्राधिकरणका कर्मचारीहरू आफ्नै ज्यानको जोखिम मोलेर घटनास्थलमा खटिइरहेको जनाइएको छ । सरकार तथा सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै उपलब्ध साधन, स्रोत तथा जनशक्ति परिचालन गरेर उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्भावित सबै मार्ग, उपाय र माध्यमबाट प्रयास भइरहेको प्राधिकरणको भनाइ छ । उद्धारका लागि कुनै पनि सम्भावित प्रयास बाँकी नराखिएको र कर्मचारीको सुरक्षित उद्धार नभएसम्म प्रयास जारी राख्ने प्रतिबद्धता पनि प्राधिकरणले जनाएको छ ।
आफ्ना साथी वा सहकर्मी सम्पर्कमा नहुँदा प्रश्न उठ्नु, चिन्ता र आक्रोश हुनु स्वाभाविक तथा जायज भएको प्राधिकरणले स्वीकार गरेको छ । तर अहिलेको कठिन अवस्थामा एक–अर्काविरुद्ध उभिनुभन्दा एक–अर्कालाई साथ दिने, हौसला दिने र धैर्य राख्ने समय भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सम्पर्कविहीन कर्मचारीहरू आफूहरूबाट अलग नभई आफ्नै साथी, सहकर्मी तथा साझा परिवारका सदस्य भएको उल्लेख गरेको छ । उनीहरूको जीवन र सुरक्षित उद्धारप्रति प्राधिकरण पूर्ण रूपमा संवेदनशील, प्रतिबद्ध र अडिग रहेको जनाएको छ । ‘हामी रोकिएका छैनौँ, हामी थाकेका छैनौँ, हामी पछि हटेका छैनौँ’ भन्दै प्राधिकरणले उद्धार प्रयास निरन्तर भइरहेको स्पष्ट पारेको छ । विपद्को यस अवस्थामा दोषारोपणभन्दा एकता, सहकार्य, मानवीय संवेदना र धैर्य आवश्यक रहेको उल्लेख गर्दै प्राधिकरणले आफ्ना सम्पर्कविहीन कर्मचारीसहित प्रभावित सबै नागरिकको सुरक्षित उद्धारका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।
२०- बायर्न म्युनिखले जर्मन शीर्ष डिभिजन बुण्डेसलिगाको नयाँ सिजनमा शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न पहिलो खेलमा बायर्न म्युनिखले भीएफबी स्टुटगार्टलाई ५-१ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षाको शानदार सुरुआत गरेको हो । गएराती एलियान्ज एरिनामा भएको खेलमा बायर्नले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ठूलो जित निकालेको हो । बायर्नले खेलको २१औँ मिनेटमा डयोट उपामेकानोको गोलबाट अग्रता लिएको थियो । जोसुवा किमिखको कर्नरमा उपामेकानोले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि बायर्न एक गोलले अगाडि रह्यो ।
दोस्रो हाफ सुरु भएको सात मिनेटमै स्टुटगार्टले खेल बराबरीमा ल्याएको थियो । गोलरक्षक मानुएल नोयरले जेफ चाबोटको प्रहार रोके पनि फर्किएको बलमा जोशा भाग्नोमानले गोल गर्दै स्कोर १–१ बनाएका थिए । तर बराबरीपछि बायर्नले आक्रामक खेल प्रस्तुत गरेको थियो । खेलको ५५औँ मिनेटमा माइकल ओलिसेले किमिखकै पासमा गोल गर्दै बायर्नलाई पुनः २–१ को अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि स्टुटगार्टका भाग्नोमानले आफ्नै पोस्टमा गोल गरेपछि बायर्नको अग्रता ३–१ पुगेको थियो । बायर्नले त्यसपछि पनि दबाब कायम राख्यो। ८२औँ मिनेटमा अलेक्जान्डर पाभ्लोभिचले इस्माएल सैबारीको पासमा गोल गर्दै बायर्नलाई ४–१ को अवस्थामा पुर्याएका थिए । थपिएको समयको दोस्रो मिनेटमा लुइस डियाजले सैबारीकै पासमा गोल गरेपछि बायर्नले ५–१ को फराकिलो जित सुनिश्चित गरेको थियो । गत सिजन १२२ गोल गर्दै जर्मन शीर्ष डिभिजनमा कीर्तिमान बनाएको बायर्नले नयाँ सिजनको पहिलो खेलमै पाँच गोल गर्दै आफ्नो आक्रामक क्षमता कायमै रहेको देखाएको छ ।