एक वर्षमा वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब: व्यापार घाटा बढ्यो, २० खर्ब ९६ अर्बको आयात
कर्पोरट खबर
9:48 pm, बिहीबार, साउन ७, २०८३
- आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार १५.८८% बढेर २४ खर्ब ११ अर्ब ६६ करोड पुग्यो।
- सोही अवधिमा व्यापार घाटा १६.६३% बढेर १७ खर्ब ८१ अर्ब ८ करोड पुग्यो, आयात १६.२०% र निर्यात १३.८१% बढ्यो।
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो आवमा २० खर्ब ८१ अर्ब १५ करोड रहेको मुलुकको वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार व्यापार घाटा बढेको छ । अघिल्लो आवको तुलना व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ । गत आवमा मुलुकको व्यापार घाटा बढेर १७ खर्ब ८१ अर्ब आठ करोड पुगेकामा अघिल्लो आवमा १५ खर्ब २७ अर्ब ९ करोड थियो ।
विभागका अनुसार आव २०८१/८२ को तुलनामा गत आवमा आयात १६.२० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १८ खर्ब चार अर्ब १२ करोड बराबरको आयात भएकामा गत आवमा २० खर्ब ९६ अर्ब ३७ करोड पुगेको छ ।
त्यस्तै, अघिल्लो आवको तुलनामा गत आवमा निर्यात १३.८१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा दुई खर्ब ७७ अर्ब तीन करोड बराबरको निर्यात भएकामा गत वर्ष तीन खर्ब १५ अर्ब २९ करोड बराबर भएको छ ।
आव २०८१/८२ मा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६. ६९ प्रतिशत रहेकामा यस्तो हिस्सा गत आवमा सामान्य बढेर ८६.९३ प्रतिशत पुगेको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३१ प्रतिशतबाट घटेर गत आवमा १३.०७ प्रतिशत छ ।