काठमाडौं । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टपनजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
उनका अनुसार, जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ छन् ।
उनी २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीनजना घाइते भएको घटनामा संलग्न रहेर फरार रहेको जनाइएको छ । उनले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको एसएसपी घिमिरेले बताए ।
उनले त्रिपुरेश्वर घटनामा पनि दाबा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको परिसरले जनाएको छ ।

उनले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए । रासस
