काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामीछानसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् ।
शनिबार भएको भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
भेटमा अमेरिकी पक्षले नेपालमा बनेको नयाँ सरकारसँग परिवर्तनका लागि महत्वपूर्ण जनादेश रहेको उल्लेख गर्दै साथै सरकारले अघि सारेका सुधारका योजनाहरू आशाजनक देखिएको धारणा पनि व्यक्त गरेको थियो ।
साथै उनले आगामी दिनमा नेपालसँग नजिकबाट सहकार्य गर्दै अघि बढ्ने अपेक्षा राखिएको बताएका थिए ।
विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि शुक्रबार सगरमाथा बेसक्याम्प पुगेका थिए भने परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् । उनी आजै स्वेदश फर्किने बताइएको छ ।
