काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा बजेटलाई लिएर चुलिएको असन्तुष्टि सतहमै देखिन थालेको छ ।
प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्ट रहेका नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । उनले सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा भने अहिलेसम्म स्वीकृत भएको छैन ।
थापाले राजीनामा बुझाएपछि एमालेभित्रको असन्तुष्टि थप चर्चामा आएको छ । उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ । मंगलबार प्रदेशसभामा बजेटमाथिको छलफलमा उनले आफ्ना धारणा राख्न चाहेका थिए ।
त्यसका लागि उनले एमाले संसदीय दलका नेता राजेन्द्र रावलसँग बोल्ने समय माग गरेका थिए । तर, रावलले उनलाई बोल्न समय उपलब्ध गराउन तयार नभएको बताइएको छ । सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्षको बजेट पारित भएको छ ।