काठमाडौं । नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ।
भेस्पा तथा अप्रिलियाप्रति युवापुस्ताको बढ्दो रुचि र ग्राहकको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। शोरुमको असोज ९ गते विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले युवापुस्ताको रोजाइमा रहेका भेस्पा र अप्रिलियाका स्कुटर देशभर सहज रूपमा उपलब्ध गराउने योजनाअनुसार धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताए।

उनले भने, “युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा र अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजनाअनुरूप आज धनगढीमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं।”

नयाँ शोरुमबाट कम्पनीका अन्य शोरुमसरह बिक्री, सेवा तथा सुविधाहरू उपलब्ध गराइने जनाइएको छ। ग्राहकको इच्छा र अपेक्षा पूरा गर्नु कम्पनीको मुख्य लक्ष्य रहेको भन्दै महतोले सोहीअनुरूप सेवा तथा सुविधा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीले देशभर शोरुम तथा आधिकारिक सर्भिस सेन्टरको संख्या विस्तार गर्दै आएको जनाएको छ। धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपाल प्रा.लि. बाट ग्राहकले भेस्पा तथा अप्रिलियाका विभिन्न मोडल तथा कलरमा स्कुटर खरिद गर्न सक्नेछन्।

शोरुमबाट नाडा अटो शोमा हालै सार्वजनिक गरिएको नेपालकै पहिलो १७५ सीसीको अप्रिलिया एसआर १७५ समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। यसका साथै भेस्पाका आकर्षक लाइल्याक र ओरो गोल्डेन नयाँ कलरमा समेत स्कुटर उपलब्ध हुने जनाइएको छ।
ग्राहकले आफ्नो रुचि र आवश्यकता अनुसार मोडल तथा कलर छनोट गरी भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्न सक्नेछन्।