काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को उपाध्यक्ष पदमा युवा उर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।
इप्पानको आगामी जेठ २९ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले बरिष्ठ उपाध्यक्ष प्रत्यासी उत्तम भ्योल लामाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
पन्त इप्पानको वर्तमान कार्यसमितिको कोषाध्यक्ष समेत रहेका छन् । उपाध्यक्षको प्रत्यासी पन्त २२.५ मेगावाट क्षमताको ठूलो खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत हुन् ।
पन्तको नेतृत्वले १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड, ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला हाइड्रो पावर र ५० मेगावाट युनाइटेड मेवा हाइड्रो लिमिटेडको आयोजन निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ भने ६ सय भन्दा बढी मेगावाट क्षमताको विभिन्न आयोजनमा लगानी रहेको छ ।
नेपाल चेम्बर अफ कमर्सका कार्यसमिती सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण ब्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरुमा लगानी रहेको देव ग्रुपका अध्यक्ष पनि हुन् ।

२० वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको उपाध्यक्षमा बलियो दाबेदार रहेको पन्त बताउँछन् । आफू उपाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरुले सहयोग गर्नेमा पन्त ढुक्क छन् । जलविद्युत क्षेत्रमा उत्पादकहरुले भोग्दै आएको समस्याको समधान गर्ने योजना आफूसँग भएकाले पन्तको दाबी छ । आगामी दिनमा उर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको विश्वास छ ।
