काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडले अन्डर–१९ महिला टीम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई रू. ६० लाख सहयोग दिने घोषणा गरेको छ ।
विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टीमलाई प्रायोजन गर्दै आएको सीजी फुड्सले (वाइ वाइ)ले महिला अन्डर–१९ क्रिकेट टीमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि रू. ३० लाख गरी जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको हो ।
आज सोमबार कठामाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले यस्तो घोषणा गरेको हो । सोही अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदिप पुडासैनीले सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सीजी फुड्स अर्थात् वाइ वाई विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री बन्दै आएको सीईओ पुडासैनीले जानकारी दिए ।
यस्तै, वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टीमलाई प्रोत्साहन र समर्थनस्वरूप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ पनि बजारमा ल्याएको छ ।
सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टीमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । साथै, वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टीमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमीहरूमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको छ ।
नेपाली राष्ट्रिय टिम दोस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्स नेपालले नेपाली राष्ट्रिय टीमलाई हार्दिक बधाई एवम शुभकामना समेत व्यक्त गरेको छ । विगत दुई दशकदेखि नेपाली क्रिकेटको सहयात्री वाइ वाइ आगामी दिनहरूमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।
यसअघि वाइवाइले विश्वकपमा सहभागी राष्ट्रिय टीमलाई प्रोत्साहनस्वरूप सुपर–८ मा पुग्न सफल भएमा रू. ३० लाख तथा समग्र नेपाली टीमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रनबापत रू. १ हजार, प्रत्येक चौकाबापत रू. ८ हजार, प्रत्येक छक्काबापत रू. १२ हजार, प्रत्येक विकेटबापत रू. १५ हजार, प्रत्येक अर्धशतकबापत रू. ५० हजार, प्रत्येक शतकबापत रू. १ लाख र नेपाली टीमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
FACEBOOK COMMENTS