काठमाडौं । बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) शुभारम्भ गरिएको छ ।
आज यातायात व्यवस्था कार्यालय गुर्जुधारा (मोटरसाइकल)मा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उक्त कार्यको शुभारम्भ गरे ।
कार्यक्रममा डिजिटाइजेशनका लागि मन्त्रालयबाट एक सय जना तथ्याङ्क प्रविष्ट गर्ने कर्मचारी खटाइएको यातायातमन्त्री महर्जनले जानकारी दिए । महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने, अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने र ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने छ ।
कार्यक्रममा मन्त्री महर्जनले प्रविधिले सुशासन कायम गर्नमा सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले सवारीसाधनको क्षेत्रमा डिजिटाइजेशनले महत्त्वपूर्ण अर्थ राख्ने बताए ।
अर्का बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले लामो प्रयासपश्चात यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको बताए ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले तथ्याङ्क अभिलेखकर्ताले जति छिटो तथ्याङ्क प्रविष्ट गर्न सक्यो त्यति धेरै आम्दानी गर्न सक्ने जानकारी दिनुभयो । उहाँले मन्त्रालयले यातायात क्षेत्रमा परिवर्तनको आभास गर्न सक्नेगरी काम भइरहेको जानकारी दिए ।
कार्यक्रममा मन्त्रालयका प्रशासन प्रमुख खगेन्द्र पौडेलले यातायात क्षेत्रका विभिन्न प्रयासका विषयमा प्रस्तुतिकरण गरे । सो अवसरमा मन्त्रालयले सवारीसाधनको फाइल फिर्ता गर्न दिएको सूचनाअनुसार सवारीधनी प्रशान्त चौधरीले कार्यक्रमस्थलमै यातायात व्यवस्था कार्यालय गुर्जधाराका प्रमुखलाई फाइल हस्तान्तरण गरे ।
FACEBOOK COMMENTS