काठमाडौं, जेठ २२ – नेपालमा हालसम्म २१ लाख १३ हजार ८० जना नेपालीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । खोप लगाएकामध्ये हालसम्म ६ लाख ९१ हजार ४९४ जनाले मात्रै दोस्रो मात्रा लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अझै १४ लाख २१ हजार ५८६ जनाले दोस्रो मात्राको खोप लगाउन बाँकी छ । सरकारले गत माघ १४ गतेदेखि सात वटै प्रदेशबाट कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको थियो ।
उक्त अभियान शुरू गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अभियान शुरू भएको तीन महिनाभित्र सम्पूर्ण नेपालीका लागि खोप लगाइसक्ने घोषणा गरेका थिए । तर विश्वभर कोरोनाको दोस्रो लहर फैलिएपछि आशातित खोप प्राप्त गर्न नसक्दा उक्त घोषणा कार्यान्वयनमा आउन सकिरहेको छैन ।
यद्यपि पछिल्लो समय सरकारले विभिन्न देशबाट लाखौं डोज खोपको आयात गरिरहेको तथा थप खोपका लागि प्रक्रिया चालू गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि गत माघ १४ गतेदेखि नेपालमा खोप अभिान शुरू गरिएको थियो ।
