काठमाडौं । भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड बिगसले नेपालमा दुई नयाँ प्रिमियम विद्युतीय स्कुटर सार्वजनिक गरेको छ।
अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा बिगस अटो प्रालिले सी१२ म्याक्सआर र ऊवाह म्याक्स प्लस मोडलका विद्युतीय स्कुटर नेपालमा सार्वजनिक गरेको हो।
काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित नाइमा मोबिलिटी एक्स्पो २०२६ मा अतिथि, साझेदार, डिलर तथा सञ्चारकर्मीहरूको उपस्थितिमा उक्त स्कुटर सार्वजनिक गरिएको हो। अग्नि मोटोइंक नेपालमा बिगस विद्युतीय स्कुटरको आधिकारिक वितरक हो।
नयाँ स्कुटर सार्वजनिकसँगै नेपालमा स्वच्छ तथा दिगो यातायाततर्फ भइरहेको रूपान्तरणलाई थप गति दिने अपेक्षा कम्पनीले गरेको छ। बदलिँदो सहरी यातायातको आवश्यकतालाई ध्यानमा राख्दै भरपर्दो, अत्याधुनिक र वातावरणमैत्री विद्युतीय स्कुटर नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
बिगस अटोका वरिष्ठ उपाध्यक्ष सतीश शेट्टीले नेपालमा कम्पनीको निरन्तर विस्तारले अग्नि मोटोइंकसँगको बलियो साझेदारी र स्वच्छ यातायाततर्फ अघि बढ्ने साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए।
उनका अनुसार सी१२ म्याक्सआर र ऊवाह म्याक्स प्लसमार्फत नेपाली उपभोक्ताले विश्वस्तरीय इन्जिनियरिङ र भरपर्दो प्रविधिको अनुभव लिन सक्नेछन्। यी उत्पादन आरआर ग्लोबल ग्रुपको अनुभव, क्षमता र विशेषज्ञताको आधारमा नेपालमा ल्याइएको कम्पनीले जनाएको छ।
सी१२ म्याक्सआर : परिवारका लागि उपयुक्त
दैनिक आवागमनलाई सहज बनाउने उद्देश्यले डिजाइन गरिएको सी१२ म्याक्सआरमा आराम, व्यावहारिकता, भरपर्दोपन र आधुनिक डिजाइनलाई समेटिएको छ। फराकिलो सिट, आरामदायी सस्पेन्सन, पर्याप्त भण्डारण क्षमता तथा प्रभावकारी विद्युतीय प्रणालीका कारण यो परिवार, कार्यालय आवतजावत गर्ने व्यक्ति तथा किफायती र वातावरणमैत्री सवारीसाधन चाहने सहरी प्रयोगकर्ताका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
सी१२ म्याक्सआरले एकपटकको पूर्ण चार्जमा १६० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। यसमा ४.२ किलोवाट क्षमताको मोटर र ३.८ किलोवाट–घण्टा क्षमताको एलएफपी ब्याट्री छ। यसको अधिकतम गति प्रतिघण्टा ७५ किलोमिटर रहेको छ।
स्कुटरमा गति स्थिर राख्ने सुविधा, बाँकी यात्राको दूरी देखाउने प्रणाली, स्ट्यान्ड लगाएको अवस्थामा सवारी सञ्चालन हुन नदिने सुरक्षा प्रणाली तथा सुरक्षित रूपमा सुरु गर्ने स्विच राखिएको छ। त्यस्तै, आर्थिक, खेलकुद तथा पछाडि चलाउने गरी तीन प्रकारका सवारी मोड उपलब्ध छन्।
ब्याट्रीमा आईपी६७ स्तरको सुरक्षा रहेको र घरमै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। स्कुटरमा फराकिलो खुट्टा राख्ने स्थान तथा ४० लिटरभन्दा बढी क्षमताको भण्डारण सुविधा रहेको छ।
कम्पनीका अनुसार सी१२ म्याक्सआरले सहज, शान्त र प्रदूषणरहित यात्रा सुनिश्चित गर्नुका साथै पेट्रोलबाट चल्ने परम्परागत स्कुटरको तुलनामा सञ्चालन खर्चसमेत घटाउन सहयोग गर्छ।
ऊवाह म्याक्स प्लस : युवा पुस्तालाई लक्षित
युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको ऊवाह म्याक्स प्लसमा आकर्षक डिजाइन, दमदार प्रदर्शन र आधुनिक विद्युतीय प्रविधिको संयोजन गरिएको छ। सडकमा राम्रो पकड, तीव्र गति वृद्धि र सहज नियन्त्रणका कारण शक्ति र व्यावहारिकता दुवै चाहने चालकका लागि यो उपयुक्त हुने कम्पनीले जनाएको छ।
ऊवाह म्याक्स प्लसले एकपटकको पूर्ण चार्जमा करिब १४५ किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ। यसमा २.४ किलोवाट क्षमताको मोटर र स्मार्ट शीतलीकरण प्रणालीसहित ३.० किलोवाट–घण्टा क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। यसको अधिकतम गति प्रतिघण्टा करिब ६० किलोमिटर रहेको छ।
स्कुटरमा करिब साढे दुई घण्टामा चार्ज गर्न सकिने सुविधा रहेको छ। यसमा मोबाइल चार्ज गर्न मिल्ने पोर्टसहितको डिजिटल सूचना प्रणाली, तीन प्रकारका सवारी मोड, ब्रेक लगाउँदा ब्याट्रीमा ऊर्जा पुन:सञ्चित गर्ने प्रणाली तथा घरमै चार्ज गर्न सकिने सुविधा छन्।
ऊवाह म्याक्स प्लसमा २१ लिटरभन्दा बढी क्षमताको भण्डारण सुविधा रहेको छ। कम्पनीका अनुसार यसको खेलकुद शैलीको डिजाइन, बलियो निर्माण गुणस्तर र आधुनिक प्रविधिले नेपालको बढ्दो युवा पुस्तालाई विद्युतीय सवारीतर्फ आकर्षित गर्नेछ।
कम्पनीले दुवै स्कुटरको यात्रा दूरी र चार्जिङ समय अनुमानित रहेको जनाएको छ। वास्तविक परिणाम सवारी चलाउने अवस्था, भार, सडकको भौगोलिक बनावट, ब्याट्रीको अवस्था तथा चार्जरको क्षमताअनुसार फरक पर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ।