काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट एक वर्षमै पुरानो लयमा फर्कने प्रयासमा छ ।
देशकै ठूलो व्यापारिक चेन भाटभटेनीका २८ मध्ये १२ वटामा आगजनी नै भएको थियो । यसबाहेक ९ वटामा तोडफोड र लुटपाट भएको थियो । यसरी २१ वटा स्टोरमा क्षति भएकोमा १७ वटा स्टोर पुन: सञ्चालनमा आएका छन् ।
तोडफोड र लुटपाट भएका शाखा पहिल्यै सञ्चालनमा आएपनि जलेर ध्वस्त भएका १२ मध्ये ८ वटा सञ्चालनमा आएका छन् । सुनसरीको धरान, काठमाडौँको नक्साल, मकवानपुरको हेटौंडा र झापाको दमक शाखा पनि पुन: सञ्चालनकै चरणमा छन् । असोज मसान्तसम्म यी शाखा पनि सञ्चालनमा ल्याउने योजना भाटभटेनीको छ ।
आन्दोलनको क्रममा उपत्यकाको महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वायरहाउस, नक्साल शाखा, उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरान शाखा आगजनीले ध्वस्त भएका थिए । कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी, भैरहवामा आगजनी नभएपनि तोडफोड र लुटपाट भएको थियो । टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वल्र्ड ट्रेडसेन्टर, पाटन, नेपालगञ्जस्थित स्टोर भने सुरक्षित रहे ।
आन्दोलनपछि क्षतिग्रस्त शाखाहरूको पुनर्निर्माण तथा पुनस्र्थापनालाई प्राथमिकता दिँदै कम्पनीले व्यवसायलाई लयमा ल्याउने प्रयास गरेको छ । जेनजी आन्दोलनले भाटभटेनीको भौतिक संरचनासँगै वित्तीय व्यवस्थापन र व्यवसाय विस्तारमा समेत तत्कालीन दबाब सिर्जना गरेपनि एक वर्षको अवधिमा कम्पनी पुन: आफ्नो नियमित व्यावसायिक गतिविधितर्फ फर्किन थालेको अवस्था छ ।

भाटभटेनीले पुन:र्निर्माणमार्फत आफूलाई लयमा मात्र फर्काएको छैन, ‘अन्तर्राष्ट्रिय मोडल’मा सञ्चालनको योजना अघि बढाएको छ । त्यही योजनाअन्तर्गत भाटभटेनीले भक्तपुरस्थित राधेराधे शाखामा रात्रिकालीन सेवा पनि सुरू गरेको छ ।

आगजनी भएको १ वर्ष पुगेकै दिन धरान स्टोर पुनः सञ्चालनमा ल्याउँदै भाटभटेनी