काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश पारित गरेको छ ।
कम्पनीको १७ औँ, १८औँ साधारण सभाले २०७९ आषाढ मसान्तसम्म कायम शेयर पूँजीमा १६ प्रतिशतका दरले (छत्तीस करोड सन्ताउन्न लाख बहत्तर हजार नौ सय बयानब्बे मात्र) को बोनस शेयर पारित गरेको हो ।
कम्पनीले बोनस शेयर बितरण गर्दा खण्डित शेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व (पूँजी प्रतिशत) कायम राख्ने गरी जारी पूँजी तथा चुक्ता पूँजी संशोधन गरेको छ । यसरी शेयर संख्या थपघट गर्ने अधिकार संचालक समितिलाई दिने समेत पारित गरेको जनाएकाे छ ।
संचालक समितिबाट प्रस्ताव गरिएको २०७९ अषाढ मसान्तसम्म कायम सेयर पूँजीमा ०.८४२१ प्रतिशतका दरले नगद लाभांश एक करोड बयानब्बे लाख एकाउन्न हजार नब्बे रूपैयाँ वितरणको प्रस्ताव समेत पारित गरेको छ ।
संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको जनाएको छ ।

सभाले २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरीएको छ ।

कम्पनीको नियमावलीको नियम १२(ख), संचालकहरूको नियुक्ति सम्बन्धी नियमलाई संशोधन गरीएको छ । संस्थापक शेयरधनीहरूबाट नियुक्त हुने ४ जना, सर्वसाधारण शेयरधनीहरूबाट नियुक्त हुने २ जना र स्वतन्त्र संचालक १ जना गरी जम्मा ७ जना संचालक नियुक्त हुने सम्बन्धी नियमलाई संशोधन गरी संस्थापक शेयरधनीहरूबाट नियुक्त हुने ३ जना, सर्वसाधारण शेयरधनीहरूबाट नियुक्त हुने ३ जना र स्वतन्त्र संचालकमा १ जना गरी जम्मा ७ जना संचालक नियुक्त हुने गरी नियम १२(ख) प्रस्ताव समेत पारित भएको छ ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमक गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका बमोजिम यस कम्पनी र अन्य कुनै बीमा कम्पनी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारी पत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पूरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लागायत मर्ज – गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने हुन आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने बारे प्रस्ताव,
प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न समेत संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने बारे प्रस्ताव समेत पारित भएको छ ।
देशभर बीमाको पहुँच अभिवृद्धि गर्न ११० शाखा मार्फत देशको ६९ जिल्लामा बीमा सेवाको विस्तार गरिएको छ भने थप केही शाखाहरू बिस्तार गरी देशको ७७ जिल्लामा बीमा सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।