काठमाडौं । निजीक्षेत्रका उद्योगी व्यवसायीको विरोधलाई बेवास्ता गर्दै नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको छ ।
राष्ट्र बैंकले करीब २ महीनाअघि चालू पूँजी शीर्षकमा प्रवाह हुने कर्जालाई कडाइ गर्दै चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गरेको थियो । त्यसपछि व्यवसायीका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत देशभरका व्यावसायिक संगठनहरूले औपचारिक रूपमा विरोध गर्दै मार्गदर्शन लागू नगर्न तथा संशोधन गर्न माग गर्दै आएका छन् । तर, केन्द्रीय बैंकले व्यवसायीको गुनासो सम्बोधन नगरी मंगलवारबाट मार्गदर्शन कार्यान्वयन गरेको हो ।
राष्ट्र बैंकले १ वर्षअघि नै मार्गदर्शनको मस्यौदा जारी गरी उद्योगी व्यवसायीलगायत सरोकारवालासँग सुझाव लिएको थियो । भदौ ७ गते उक्त मार्गदर्शन जारी गर्दै कात्तिक १ देखि लागू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।
व्यवसायीले भने मार्गदर्शनका प्रावधान कार्यान्वयन गर्न नसकिने भन्दै यसलाई स्थगन गर्न माग गरिरहेका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासंघले कार्यवाहक गभर्नर डा। नीलम ढुंगाना तिम्सिनालाई ध्यानाकर्षणपत्र बुझाउँदै निजीक्षेत्र हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेकाले तत्काल चालू पूँजी कर्जासम्बन्धी नयाँ व्यवस्था कार्यान्वयन नगर्न र अवस्था सहज भएपछि क्रमशः कार्यान्वयन गर्न आग्रह गरेको छ ।
‘अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले प्रभाव परेको अहिलेको बेला चालू पूँजी कर्जासम्बन्धी व्यवस्थाले निजीक्षेत्र निरुत्साहित भएको छ,’ महासंघले कार्यवाहक गभर्नरलाई बुझाएको पत्रमा भनिएको छ, ‘अहिलेलाई स्थगन गरी अर्थतन्त्रमा सुधार हुँदै गएपछि चरणबद्ध रूपमा आवश्यकता हेरी अर्थतन्त्रमा नकारात्मक प्रभाव नपर्ने गरी उक्त व्यवस्था कार्यान्वयन गर्दै लैजान सकिन्छ ।’
व्यवसायीले विरोध गरे पनि राष्ट्र बैंक भने मार्गदर्शन कार्यान्वयनको अडानबाट पछि हटेको छैन । राष्ट्र बैंकले लामो तयारी गरी उनीहरूबाट सुझाव लिएर मार्गदर्शन जारी गरेकाले यसमा व्यवसायीले विरोध गर्नुको कुनै अर्थ नरहेको गभर्नर महाप्रसाद अधिकारीले बताउँदै आएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS