काठमाडौँ । कास्की काँग्रेसमा अन्तर्घात भएको भन्दै नाराबाजी भएको छ । पोखरा १३ बाँझापाटनमा काँग्रेसका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
कास्की १ (२) मा नेपाली काँग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ पराजित भएपछि उनीहरूले नाराबाजी गरेका हुन् । नाराबाजीका क्रममा कास्की काँग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीविरुद्ध नारा लगाए ।
कृष्ण केसी समूहले कास्कीमा काँग्रेसका उम्मेदवार हराउन लागेको भन्दै माइला निकट समूहले नाराबाजी गरेको बताइएको छ ।
कास्की मादी गाउँपालिकाका सभापति यम गुरुङले दिउँसो फेसबुकमा स्टाटस लेख्दै कृष्ण केसीले काँग्रेस उम्मेदवार हराउन आफूलाई समेत उकासेको बताएका छन् ।
उनले लेखेका छन्, ‘मलाई घरमै बोलाएर १ घण्टासम्म किशोरलाई हराउनुपर्छ, जित्न दिनुहुँदैन भनेर पढाए । यसको तात्पर्य दुवै उम्मेदवार हराउनुपर्छ भन्ने हो ।’
कास्की १ मा मतगणना जारी हुँदा काँग्रेसका उम्मेदवार जिल्ला सभापति किशोरदत्त बराल एमालेका उम्मेदवार मनबहादुर गुरुङसँग निरन्तर पछाडि छन् ।
एमालेसँग ७० लाख रुपैयाँ लिएर पार्टीलाई अन्तर्घात गरेको उनीहरूको आरोप छ । उनीहरूले सुरुमा कृष्ण केसीको घर घेराउ गरेर उनीहरू सडकमा नाराबाजी गरेका थिए । अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ ।
FACEBOOK COMMENTS