काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबिच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकोमा उनी सकारात्मक रहेको बताइएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए ।
काँग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबिच सहमति भएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
‘भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबिच बालुवाटारमा भेट भयो । दुवै नेताबिचको छलफल सकारात्मक भयो । काँग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,’ निधिले भने ।
राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसकेका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णायक शक्तिको रूपमा रहेको छ ।
यसअघि राउत र काँग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो । निधिकै पहलमा राउत र प्रधानमन्त्रीबिच भेटवार्ता भएको हो ।
FACEBOOK COMMENTS