अहिले विश्व बजारमा मात्र नभई नेपाली बजारमा समेत इलेक्ट्रोनिक गाडीको माग बढ्दो छ । विभिन्न कम्पनीहरुले अहिले पेट्रोलबाट चल्ने गाडीभन्दा इलेक्ट्रोनिक गाडीलाई प्राथमिकता दिन थालेका छन् । अन्य कम्पनी जस्तै जिमिनी इन्कर्पोरेटले पनि इलेक्ट्रोनिक गाडीलाई प्राथमिकतामा राख्न थालेको छ । अन्य गाडीभन्दा यो कम्पनीको विविध विशेषता लगायत अन्य विषयमा कर्पाेरेट खबरका लागि कम्पनीका डाइरेक्टर सुवास शर्मासँग मीना घोरसाइनेले लिएको अन्तर्वार्ताको सम्पादित अंश :
तपाईंहरुले यस कम्पनी सञ्चालन गर्नुभएको कति वर्ष भयो ?
हामीले कम्पनी सुरु गरेको पाँच वर्ष भयो । सुरुवाती तीन वर्ष हामीले कन्स्ट्रक्सनसम्बन्धि काम गर्यौं । पहिले पनि हामी अटोमोबाइल सेक्टरपट्टिबाटै भएकाले अब पनि हामीले यही क्षेत्रमा नै काम गर्नुपर्छ भनेर काम गर्न लागेका हौं । विशेषगरी कोभिडपछि सम्पूर्ण व्यवसायिक क्षेत्र प्रभावित बन्यो । जसका कारण हामीले त्यो अवधिमा केही काम गर्न सकेनौं । एक वर्ष हाम्रो यसै बित्यो । तसर्थ हामी सबै यही क्षेत्रबाट आएको हुँदा अब अटोमोबाइललाई प्राथमिकता दिनुपर्छ भनेर नै हामीले एक वर्ष अघिदेखि तयारी थालेर हालै मात्र काम सुरु गर्न लागेका हौं ।
सुरुवातमा जुनसकै काम गर्दा पनि धेरै नै चुनौतीहरु आइपर्छन् । तपाईंहरुले के–कस्ता चुनौतीको सामना गर्दै आउनुभएको छ ?
हामीले अटोमोबाइल वा इवीको पार्टलाई हेरेका थिएनौं । तसर्थ यसका बारेमा अध्ययन गर्ने क्रममा मैले गाडी किन्दा कस्तो गाडी किन्नुपर्छ भन्ने सोचअनुरुप इलेक्ट्रोनिक गाडी ल्याउन लागेका हौं । तसर्थ हामीले पूर्वतयारीका क्रममा धेरै नै चुनौतीहरु झल्दै यहाँसम्म आइपुगेका छौं ।
सुरुवातमा कतिवटा गाडी ल्याउँदै हुनुहुन्छ ?
सुरुमा हामीले १० वटा गाडी ल्याउन लागेका छौं । हाल बोर्डरसम्म आइपुगिसक्यो ।
यो गाडीको विशेषता के छ ?
विशेषगरी अन्य इलेक्ट्रोनिक गाडीभन्दा यो गाडी बिल्कुलै फरक छ । किनभने अरु गाडीका लागि चार्जिङ स्टेशनको आवश्यकता पर्छ भने यो गाडीको लागि आवश्यक पर्दैन । हामीले खरिदकर्तालाई गाडीसँगै चार्जर पनि उपलब्ध गराउँछौं ।
त्यस्तै यो गाडी नेपालको बाटोअनुरुप छ । त्यसकारण पनि हामीले ग्राउण्ड क्लियरेन्सको गाडी ल्याएका हौं । त्यस्तै नेपालमा भएका सानो परिवारका लागि पनि यो गाडी हुने खालको छ । तसर्थ हामीले सानो गाडीलाई फोकस गरेका हौं । सानो गाडी भनेपछि जहाँ पनि पुग्छ कि पुग्दैन भन्ने डाउट सबैमा हुन्छ । त्यो डाउटलाई हटाउन हामीले तीनसय वाटको सोलार प्यानलसहित ल्याएका छौं । जसले थप तीस प्रतिशत विद्युत खपत कम गर्छ ।
आजभोलि इलेक्ट्रोनिक गाडीहरुले प्रतिस्पर्धा बढ्दै गएको छ । यसलाई मध्यनजर गर्दै यो गाडीलाई अझ व्यवसायिक बनाउन के–कस्ता योजनाहरु ल्याउनुभएको छ ?
साधरणतया गाडीहरुमा तीनचारवटा कुराहरु आवश्यक पर्छन् । जसमा पहिलो आफ्टर सेल्स सर्भिस नै हो । अन्य गाडीमा जस्तो यसमा धेरै सर्भिस आवश्यक पर्छ भन्ने त होइन । तर गाडी ल्याइसकेपछि यसको सर्भिसिङलाई प्रमुख प्राथमिकतामा राखेका छौं । हामीले यो गाडीलाई मध्यम आय हुने व्यक्तिहरुलाई फोकस गरेका छौँ । किनभने गाडी ल्याइसकेपछि सबैले किन्न सकुन भन्ने कुरा नै प्रमुख हुन्छ । हामी पहिले पनि यही फिल्डबाट आएको हुँदा हामीलाई यो कुरालाई ध्यानमा राखेका छौं ।
यो गाडीको बजार मूल्य कति छ ?
हामीले यो गाडीको मूल्य २५ लाख तोकेका छौं । तर सुरुवातमा हामीले २४ लाखमा विक्री गर्ने भनेर तोकेका छौं ।
अहिले बजारमा यो गाडीभन्दा कम मूल्यका गाडीहरु पनि आइसकेका छन् । यसलाई कसरी हेर्नुभएको छ ?
मूल्य बजारमा फरक त परिहाल्छ । हामीले जहिले पनि बेस्ट दिन खोजेका हुन्छौं । यसैमा कम रेन्ज हुने गाडी पनि आउँछ, नआउने होइन । हाम्रो गाडीको ब्याट्रीको क्यापासिटी एकदमै राम्रो छ । तपाईंले कुन रेन्जको ब्याट्री राख्नुहुन्छ । त्यहीअनुसार गाडीको मूल्य पनि फरक पर्छ । त्यसैले हामीले अलि बढी नै रेन्जको ब्याट्री राखेका छौं । किनभने मानिसले धेरै कुरा सोच्न नपरोस् भन्ने हिसाबले यो गाडी ल्याएका हौं र हाम्रो गाडीको प्रयोगकर्ताले निराश हुनुपर्दैन ।
गाडी किनिसकेपछि सबैभन्दा ठूलो कुरा भनेको यसको स्पेयर्स पार्टस् र सर्भिस सेन्टरको कुरा आउँछ । यसको व्यवस्थापन र यसको स्पेयर पार्टस्को सुरक्षा कसरी गर्ने ?
यो कुरा हामीले विगतदेखि नै सोचिसकेका छौं । यसको स्पेयर्स पार्टस् पनि गाडी सँगसँगै आउँदैछ । ट्रेन्ड मेकानिक पनि हामीले पहिले नै तयार गरिसकेका छौं । तसर्थ त्यसको लागि चिन्ता छैन ।
यस गु्रपमा ठूलादेखि सानासम्म कमर्सियल भइसकेका अनुभवी व्यक्तिहरु हुनुहुन्छ । अबको नयाँ योजना के लिएर आउनुभएको छ ?
हामीले तीनचारवटा चिज हेर्दैछौं । इभी हाम्रो पहिलो हो । यो हुनेबित्तिकै हामी टु ह्वेलरमा पनि जाँदैछौं । यो इस्टाब्लिस भइसकेपछि हामी नेपाल अधिराज्यभर जाने योजनामा छौँ ।
प्रदुषणको हिसाबमा यो गाडी र अन्य गाडीमा के भिन्नता छ ?
यो गाडी अन्य डिजल वा पेट्रोलबाट चल्ने गाडीभन्दा बिल्कुलै फरक छ । यो गाडी प्रदुषणमुक्त गाडी हो । वातावरण प्रदुषणको हिसाबले पनि यो गाडी धेरै नै सुरक्षित छ ।
यो गाडी विशेषगरी कुन क्षेत्रका लागि उपयोगी छ ?
मैले अघि नै भनिसकें । यो गाडी नेपालका हरेक क्षेत्रका लागि उपयोगी छ । पहिलो कुरा गाडीको रेन्जको कुरा आउँछ । यो गाडीको ब्याट्रीको रेन्ज एकदमै राम्रो छ । गाडीसँगै खरिदकर्ताले यसको चार्जर पनि पाउने हुँदा यो गाडी घरमै आफैंले चार्ज गर्न मिल्छ । अर्काे कुरा यात्राका क्रममा चार्ज आवश्यक पर्याे भने यो जहाँ पनि रोकेर चार्ज गर्न मिल्छ । यो गाडी कहीँ पनि लैजान समस्या छैन । यसमा फास्ट चार्जिङ पनि चाहिँदैन । जहाँ पनि चार्ज गर्न मिल्छ ।
यो गाडी किनिसकेपछि प्रयोगकर्ताले कस्तो अनुभव गर्न सक्छन् ?
हामीले विशेषगरी काठमाडौँ उपत्यकाभन्दा पनि बाहिर फोकस गर्न खोजेका छौं । काठमाडौँ बाहिरका धेरै सहरहरुमा लैजान सहज छ । पहिलो कुरा त मानिसहरुलाई इभी भनेको के हो नै थाहा छैन । बाहिरबाट अनावश्यक पैसा खर्च गरेर ल्याइने अनावश्यक इन्धनको कटौती गरी स्वदेशी विद्युतलाई किन खपत नगर्ने ? यही कुरालाई नै मध्यनजर गर्दै हामीले यो गाडी भित्र्याएका हौँ । यही कुरालाई मध्यनजर गर्दै इलेक्ट्रिक गाडीलाई प्राथमिकतामा राख्नु अहिलेको आवश्यकता हो । तसर्थ यसका लागि क्याम्पियन नै चलाउनुपर्ने मैले देखेको छु ।
भिडिओ :
FACEBOOK COMMENTS