काठमाडौं । सरकारले भारतसँग जीटूजी प्रक्रियामार्फत खरीद गरेर ल्याएको युरिया मल सरकारी गोदाममा थन्किँदा किसानले गहुँ बालीमा ‘टप ड्रेसिङ’ गर्न पाएका छैनन् ।
सरकारले ल्याएको तीन र्याक युरिया मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा आइपुगेको करीब एक साता भइसकेको छ । बाँकी मल आउने क्रममा छ । सरकारसँग मल मौज्दात भए पनि आफूहरूले नपाएको गुनासो किसानले गरिरहेका छन् ।
जीटूजी प्रक्रियाबाट पहिलो खेपमा भारतले दिएको ३० हजार मेट्रिक टन युरियामध्ये सोमवारसम्म तीन र्याक वीरगञ्ज आइपुगेको छ । अरु जोगबनी आइपुगेको कृषि सामग्री कम्पनी लिमिटेडका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कम्पनीमा व्यवस्थापन टिम नयाँ आएकाले भर्खरै आइपुगेको मलको विक्रीवितरण खोल्न केही समय लागेको हो । विक्रीवितरण खोल्न ढिलो हुँदा किसानले नपाएको उनले स्वीकार गरे ।
सरकारले मल ल्याएर राखे पनि आफूहरूले गहुँबालीमा टप ड्रेसिङ गर्न नपाएको सप्तरीका अगुवा किसान भुवनेश्र यादवले गुनासो गरे । ‘सरकारले धमाधम युरिया मल भित्र्याइरहेको खबर सुनेका छौं तर गहुँबालीमा हाल्न गाउँमा कोही पनि किसानले पाएका छैनन्,’ यादव भन्छन्, ‘यति बेला युरिया हाल्न नपाए उत्पादन राम्रो हुँदैन । किसान दिनहुँजसो सहकारीमा पुगेर फर्किन्छन् । सहकारीमा पनि मल छैन ।’
भारतबाट ल्याउन लागिएको ३० हजार मेट्रिक टन युरियामध्ये २५ हजार ५ सय टन वीरगञ्ज र बाँकी ४ हजार ५ सय टन विराटनगर भन्सारबाट नेपाल आउनेछ । वीरगञ्जबाट आउने मलमध्ये ११ हजार ५ सय टन वीरगञ्ज प्रादेशिक कार्यालयमा पठाउने तयारी छ । त्यसैगरी १० हजार टन भैरहवा प्रादेशिक कार्यालयमा र ४ हजार ५ सय टन विराटनगर पठाउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS