काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै बास्केटमा रहेकोले निजी क्षेत्रका भनाईहरुलाई जनमानसमा पुर्याउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
काठमाडौँमा आज इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानमा नेपाल चेम्वर अफ कमर्सद्वारा आयोजित स्वागत कार्यक्रममा उनले सरकारले प्रतिवद्धता गरेका सुविधाहरु व्यवहारमा उतार्न नसक्नु दुःखदायी भएको बताए ।
उनले भने, ‘कुनै पनि व्यवसायलाई सही बाटोमा लैजान मिडियाको भूमिका महत्वपूर्ण हुने गर्दछ, तसर्थ यसको विकास र विस्तार गर्नु जरुरी छ ।’ सोही अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने, आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसँग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतिहरुलाई सम्प्रेषण गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको बताउँदै संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन आग्रह गरे ।
कार्यक्रममा इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्षद्वय सोमनाथ बास्तोला र लोचन खतिवडा, महासचिव नारायण पौडेल, सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS