सर्लाही । गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् ।
बजारमा भारतीय गोलभेँडा ओइरिएपछि यहाँका स्थानीय किसानले फलाएको गोलभेँडाले बजार र उचित मूल्य पाउन छाडेको छ । किसानले गोलभेँडा प्रतिक्रेट १५० देखि दुई सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।
एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ । यसरी गोलभेँडा प्रतिकेजी छदेखि आठ रुपियाँमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल रहेको हरिवन नगरपालिका–२, सिकारी टोलका किसान वसन्तकुमार डुमजनले गुनासो गरे । “सुरुमा एक क्रेट गोलभेँडा एक हजार दुई सय रुपियाँसम्ममा पनि बेच्यौँ तर अहिले आएर १५० रुपियाँमा बेच्नु परेको छ,” डुमजनले भने ।
लालबन्दी बजारबाट तरकारी जाने मुख्य बजारमा भारतीय गोलभेँडा बिनारोकटोक भित्रिँदा यहाँका किसानलाई गोलभेँडा बेच्नै समस्या हुन थालेको हो । लालबन्दी नगरपालिका–१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले भने, “क्रेटको डेढ सयले गोलभेँडा बेच्दा हाम्रो लागत र हैरानी उठ्दैन ।” काठमाडौँमा नै गोलभेँडाको भाउ नरहेको भन्दै व्यापारीले गोलभेँडामा भाउ नै नलगाउने गरेका श्रेष्ठले गुनासो गरे ।
लालबन्दी नगरपालिका–१, नवलपुरका किसान चरित्र कुशवाहाले १० कट्ठामा लगाएको गोलभेँडा टिपेर बेच्ने बेला भए पनि व्यापारीले खरिद गर्न नमानेको बताए । “भारतीय गोलभेँडा आइरहेको छ भन्दै व्यापारीले हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्,” कुशवाहाले भने ।
बारीभरि पाकेर राताम्मे भएको गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्ने बाध्यतामा रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS