काठमाडौं । सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाउने भएको छ ।
आयोडिनयुक्त नूनको प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्न सरकारले एक महिना विविध कार्यक्रम गर्दै आयोडिन मन्थ मनाउन लागेको हो ।
आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप देशैभर कार्यक्रम गर्न लागेको बताइएको छ ।
सन् २०२३ फेब्रुअरी महिनामा आयोडिन सम्बन्धी जनचेतना जगाउन नुन खाउँ, सही मात्रामा खाउँ, दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नून नै खाउँ भन्ने नारालाई साकार गर्ने योजना रहेको बताइएको छ । अभियान माघ १८ गतेदेखी १ महिनासम्म संचालनमा हुनेछ ।
आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशनले जनाएको छ ।
सरकारले ५९ वर्षदेखी साल्ट ट्रेडिङ कर्पोरेशनलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ग्रामीणस्तरसम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिकाका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
FACEBOOK COMMENTS