काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारलाई आग्रह गरेको छ ।
चेम्बरले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग ‘एक नेपाली एक पर्यटक’ रणनीतिकमार्फत लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।
मन्त्री किराँतीलाई चेम्बरले विभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ’, सुझाव पत्र पेश गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भने । मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
नेपालका महत्वपूर्ण पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड छ । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत आठ हजार मिटर भन्दा माथिका आठ वटा हिमाल, पशुुपति, लुम्बिनी, लगायतका क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थललाई संरक्षण र प्रर्वद्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन (इयू)को ब्ल्याक लिस्टबाट हटाउनका लागि कुटनीतिक पहल गर्न समेत अध्यक्ष मल्लले मन्त्री किराँती समक्ष आग्रह गरे । यसैगरी नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाईन्सको जहाज थप गर्ने प्रक्रीया अविलम्व शुरु गर्नुपर्नेमा चेम्बरको जोड छ ।
उनले पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको पनि स्पष्ट पारे ।
FACEBOOK COMMENTS