काठमाडाैं । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ ।
लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताए । मार्फामा रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तल्लो क्षेत्रमा पानी परिरहेको र डाँडामा हिउँ जमेको बताए । “जमिन तातेकाले हिउँ जमिसकेको छैन,” उनले भने “डाँडा भने सेताम्मे भएका छन् ।” मौसम चिसो भएपछि जमिनमा हिउँ जम्ने लालचनले बताए । खेतीपातीका लागि ढिलै भए पनि हिउले फाइदा गरेपनि वर्षाले राम्रो नगर्ने कृषि प्राविधिकको भनाइ छ । “हिउँले शितोष्ण बालीलाई फाइदा पुग्छ तर पानी मात्र पर्दा त्यति राम्रो मानिदैन्”, कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले भने, “हिउँले जमिनको सतहलाई भित्री सतहसम्म सिँचाइ गर्ने, अन्नबाली सप्रिनुको साथै फलफूल र तरकारी फल्न र फूल फुल्नमा सहयोग पुग्छ ।”
स्याउको फूल खेल्न र परागसेचन प्रक्रियाका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ । तीन वटा खानेपानी आयोजना सुरु म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एक करोड ४० लाख रूपैयाँकाे लागतमा तीन वटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् । कूल एक करोड ४० लाख १४ हजार नौ सय ३५ रूपैयाँको लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठ वटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रबन्धक बेलबहादुर गुरुङले जानकारी दिए ।
“अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दाना बजार, द्वारी र ४ मा पटार खानेपानी आयोजना निर्माण सुरु भएको हो,” उनले भने “संस्थाले कूल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।” यही फागुन महिनामा उपभोक्ता समितिसँग सम्झौता भएका आयोजना आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल ६७ लाख रूपैयाँ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजना बाट निर्माण हुने ५१ धारा मार्फत २३० जनसंख्या लाभान्वित हुनेछन् । ४६ लाख ४० हजार ५५४ रूपैयाँ लागत अनुमान गरिएको द्वारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट ११२ र २६ लाख ७४ हजार ३१४ रूपैयाँ लागत अनुमान गरिएको पटार खानेपानी आयोजनाबाट निर्माण हुने ३१ वटा धाराबाट १५९ जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।
दानाबजार, द्वारी र पटारमा यसअघि बनेका खानेपानी आयोजनाको संरचना र वितरण प्रणाली जिर्ण हुँदा स्थानीयबासीलाई समस्या भएको थियो । सबै घरमा निजी धारासहितको खानेपानी आयोजना निर्माण हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाई तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाईको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए । खानेपानी विभागको मापदण्ड अनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ वटा विभिन्न निकायमार्फत निर्माणाधिन रहेका र मौजुदा सहित ८९ करोड रूपैयाँ बजेट आवश्यक पर्ने योजनामा औल्याइएको छ ।
