काठमाडौं । बागलुङमा खुला व्यायामशाला स्थापना गरिएको छ । बागलुङ नगरपालिकाले नागरिकको पहुँचमा पुग्नेगरी खुला व्यायामशाला स्थापना गरेको हो ।
नगरपालिकाको पहलकदमी तथा आयुर्वेद विभागको समन्वयमा सो संरचना स्थापना गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । झोलुङ्गे पुल रहेको सहिद पार्कमा खुला व्यायामशाला सञ्चालन गरिएको श्रेष्ठले बताए । नगरपालिका–१ रामरेखाको सहिद पार्क तथा लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका नागरिकलाई लक्षित गरी सो संरचना बनाइएको हो ।
“बिहान र बेलुका हिँड्डुल गर्ने नागरिक बढेका छन्, बजारको कोलाहलबाट टाढा रहन बाङ्गेचौर, लामो पुल, सहिद पार्क र मालढुङ्गा क्षेत्रमा पुग्ने गरेका छन्”, नगरप्रमुख श्रेष्ठले भने, “शारीरिक अभ्याससँगैै खुला प्रकृतिको आनन्द लिन सकिने छ ।”
पुल हेर्न आउने र शारीरिक स्फूर्तिका लागि आवातजावत गर्नेलाई सहज भएको स्थानीय राम शर्माले बताए । सहर बजारका नागरिकको खानपान र रहनसहनका कारण अनिवार्य व्यायाम गर्न आवश्यक देखिएकाले गत वर्षदेखि यस्तो संरचना बनाउने सोच राखिएको थियो । यस वर्ष १५ प्रकारका सामग्री ल्याएर व्यायामशाला स्थापना गरिएको हो ।
धौलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा सरोजकुमार रायका अनुसार डब्लुएचओको आर्थिक सहयोग तथा आयुर्वेद विभागको समन्वयमा यो संरचना बनाइएको हो । शारीरिक अभ्यास, योग तथा खानपानमा सहर बजारका नागरिक सचेत रहन आवश्यक रहेको बताउँदै डा रायले खुला व्यायामशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारीरिक अभ्यासको माध्यम भएको बताए ।
FACEBOOK COMMENTS