काठमाडौं । रावा इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा कार्यालयसमय भित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारिमा रहेका नेपालीहरूका लागि चैत २३ गतेदेखि बिक्री खुला गरेको थियो ।कम्पनीले स्थानीय बासिन्दाहरुका लागि भने आवेदन म्याद थप गरेको छ । स्थानीय बासिन्दाले वैशाख २४ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसअनुसार १०० अंकित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । खोटाङ जिल्ला केपीलासगडी गापा (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्ने यस कम्पनीले जनाएको छ ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ५६ लाख रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ । प्रतिसेयर १०० अंकित दरले ५६ हजार कित्ता साधारण सेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS