काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् ।
जुन गत आवको चैत मसान्तको तुलनामा ११.६७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ नाफा कमाएका थिए ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.६२ प्रतिशतले बढी हो ।
सबैभन्दा थोरै नाफा कृषि विकास बैंकले १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ४५.३६ प्रतिशतले कम हो ।
ग्लोबल आइएमई बैंकले ४ अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको नाफा १६.९६ प्रतिशतले बढको छ । तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ रहेको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ११।३८ प्रतिशतले बढी हो ।
सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमा १४ वटाको नाफा बढेको छ भने ७ वटाको घटेको छ । चैत मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गर्दा नाफा बढाउने बैंकमा प्रभु, नबिल, लक्ष्मी, एभरेष्ट, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य। हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, एनआईसी एशिया, सानिमा, स्टयान्डर्ड चार्टर्ड, एनएमबि र कुमारी बैंक रहेका छन् । एनएमबि र कुमारी बैंकको नाफा भने १ प्रतिशतभन्दा कम बढेको छ ।
यस्तै नाफा घटेका ७ वटा बैंकमा प्राइम, माछापुच्छ्रे बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास र सनराइज बैंक रहेका छन् ।
प्राइम बैंकको नाफा ९.३४ प्रतिशत, माछापुच्छ्रे बैंकको नाफा १२.८७, नेपाल बैंकको १८.७२ प्रतिशत, सिटिजन्स बैंकको नाफा २२.२४ प्रतिशत, सिद्धार्थ बैंकको नाफा २८.६५ प्रतिशत, कृषि विकास बैंकको नाफा ४५.३६ प्रतिशत र सनराइज बैंकको नाफा ८.३३ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS