काठमाडौं । सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोला सीमा किमाथाङ्कानाका सञ्चालन ल्याइने भएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोलाको किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए ।
किमाथाङ्कानाका सञ्चालनमा ल्याउन परराष्ट्रमन्त्री साउदले प्रतिबद्धता व्यक्त गरेको सङ्खुवासभाका प्रदेशसभा ९१० का प्रदेश सदस्य राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार परराष्ट्रमन्त्री साउदले ध्यानाकर्षण पत्र बुझ्दै किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकता दिने बताए ।
आइतबार मन्त्रालयमा सङ्खुवासभा जिल्लाका प्रतिनिधिसभा सदस्य दीपक खड्का, प्रदेशसभा सदस्य कार्कीलगायत जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिले चीन सरकारसँग नाका खोल्न पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएका थिए ।
परराष्ट्रमन्त्री साउदले नाका सञ्चालन पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको प्रदेशसभा सदस्य कार्कीले बताए । किमाथाङ्का नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले यसलाई प्राथमिकतामा राख्ने परराष्ट्रमन्त्री साउदले बताए ।
कोरोना महामारीका कारण तीन वर्षदेखि उक्त नाका बन्द रहेको छ । किमाथाङ्का नाका खुलाउन यसअघि प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको थियो ।
FACEBOOK COMMENTS