काठमाडौं । विकास निर्माणका योजना असार मसान्तअगावै पूरा नगर्ने प्रवृत्ति देशभर रहँदा बागलुङको जैमिनी नगरपालिका भने बजेट कार्यान्वयनमा उदाहरण बनेको छ । चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा नगरपालिकाकाले नगर र वडास्तरका ९५ प्रतिशत योजनाको काम सकेको छ ।
योजनाको काम सकिँदा कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएका हुन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।
जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ५ प्रतिशतको काम मात्रै बाँकी छ । बाँकी केही ठूला आयोजनाको काम चलिरहेको छ । जैमिनीले चालु आवमा विनियोजन भएका कार्यक्रम सम्झौताका लागि मङ्सिर मसान्तको समय तोकेको थियो ।
केही ढिलागरी सम्झौता भएकासमेत चैत मसान्तमा अधिकांश योजनाको भुक्तानी फरफारकको काम सकिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । ‘नगरस्तरका झण्डै चार सय योजनामध्ये ९५ प्रतिशतको काम सकिएर फरफारक भएको छ’, गिरी भन्छन्, ‘समपुरकका केही योजना बाँकी छन्, बहुवर्षे योजनाको कामबाहेक सबै काम सकेका छौं ।’
सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेका तीन सडक र एक खानेपानी आयोजनाको काम चलिरहेको योजना अधिकृत प्रेम सापकोटाले बताए । त्योबाहेक पाँचओटा झोलुङ्गे पुल बनाउने योजना सञ्चालनमा छन् । गत वर्षका गरी २५ विद्यालय भवन निर्माणाधीन छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बनिरहेका विद्यालय भवनमध्ये चारओटा भवनको काम सकिएर फरफारक भएका छन् । झोलुङ्गे पुल, विद्यालय भवन र समपुरकका सडक र खानेपानीबाहेक सबै योजना कार्यान्वयन सम्पन्न भएका छन् । असारको मसान्त नजिकिँदै गर्दा भीडभाड हुने नगर कार्यपालिकाको कार्यालयमा यो वर्ष भीड हुने छैन ।
‘आगामी वर्षको तयारीका लागि पर्याप्त समय उपलब्ध भएको छ, असारे विकास अन्त्य प्रयास थालेका हौं । केही हदसम्म सफल भएका छौं,’ नगर उपप्रमुख हरिहर शर्माले भने, ‘मङ्सिर र चैत मसान्तको समयसीमाले काम द्रुत भए ।’
उपभोक्ता समितिबाहेक ठेक्कामा गर्नुपर्ने काममा भने समयसीमा आयोजना सम्झौताकै समयमा तोकिने हुनाले त्यसको प्रभाव नपरेको शर्माले बताए ।
जैमिनीका दशओटै वडास्तरका योजनाको काम सकिएको छ । कार्यक्रम सम्झौता नै हुन नसकेका केही योजनाको रकमान्तर गरेर काम भइरहेको गिरी बताउँछन् । ‘वडामा पनि हामी लक्ष्यको नजिक छौं, रकमान्तर भएकाबाहेक सबै काम सकिए’, उनले भने, ‘उपभोक्ता पनि उत्साहित भएर काममा लाग्नुभएकाले यो सफल भएको हो ।’
नगरपालिकाले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र नगरको सञ्चितकोष लगायत परिचालन गरेर योजनाको भुक्तानी समयमै दिएको हो । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाट र समानीकरण अनुदान कमी आएमा ठूला योजनामा असर पर्ने प्रमुख प्रशासकीय अधिकृत गिरी बताउँछन् ।
FACEBOOK COMMENTS