काठमाडौं । सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, “प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने कानुन छैन, आजको बैठकमा भोलिदेखि चल्ने संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।”
अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्रीले बैठकमा सुझाव मागेको सचेतक पाण्डेको भनाइ छ । बैठकमा संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकता लगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा अधिवक्तासँग पनि प्रधानमन्त्रीले सुझाव लिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले विश्वास मत लिनु नपर्नेमा निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।
FACEBOOK COMMENTS