व्यवसायीलाई घर भाडामा २० प्रतिशत छुट
कर्पोरट खबर
10:16 pm, बुधबार, जेठ ३१, २०८०
भरतपुर । उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनकोे आज बसेको नियमित बैठकले सङ्घको नाममा सहिद चोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।
आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकाले उद्योग वाणिज्य सङ्घ चितवनले घरभाडामा लगाउने घरधनीलाई आफ्नो अनुकूलताअनुसार घरभाडामा छुट दिन अपिलसमेत गरेको छ । देशमा व्यापक चरम आर्थिक मन्दीका कारण व्यावसायिक गतिविधिमा ह्रास आएको र व्यवसायीहरू घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ ।
कोभिड–१९ र त्यसपछि सिर्जना भएको व्यावसायिक जटिलता, बैंक ब्याज वृद्धि जस्ता समस्याको सामना गर्दै आएका उद्योगी व्यवसायी अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने कार्य आफैँबाट सुरु गरिएको सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो ।
उहाँले वर्तमान अवस्थालाई मध्यनजर गरी अरू घरधनीले कम्तीमा यो अवस्था सहज नहुँदासम्मका लागि घर भाडामा केही प्रतिशत छुट दिन अनुरोध गर्नुभयो । घर बहाल सम्झौताबमोजिम यस वर्ष घर बहालमा वृद्धि गर्ने समय आएका घरधनीलाई यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्नसमेत सङ्घले अपिल गरेको छ । सङ्घको मातहतमा रहेका व्यावसायिक भवनमा व्यवसाय गरिरहेका व्यवसायीलाई सम्झौताबमोजिम यस वर्ष वृद्धि हुने बहाल रकमसमेत छुट दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
केही दिनअघि मात्र घरबहाल उपभोक्ता मञ्च चितवनले घरभाडा छुट दिन घरबेटी र छुट गराएर मात्र भाडा तिर्न व्यवसायीलाई आह्वान गरेको थियो । विभिन्न व्यावसायिक सङ्घसंस्थाको समर्थनमा मञ्चले दबाबमूलक कार्यक्रमसमेत गरिरहेको छ । मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले आर्थिक मन्दीका कारण व्यवसाय धरासायी बनेको भन्दै घरभाडा छुट नभएसम्म व्यवसाय टिकाउन नसकिने अवस्था आएको बताउनुभयो । उहाँले मञ्चले गरेको आग्रहअनुसार उद्योग वाणिज्य सङ्घबाटै घरभाडा छुटको सुरुआत हुनु सकारात्मक भएको बताउनुभयो ।
–––
FACEBOOK COMMENTS